बेरुत (लेबनान), २१ कात्तिक । लेबनानका नवनियुक्त राष्ट्रपति मिसेल आवनले मुलुकलाई बलियो बनाउन यहाँ व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रलाई बलियो पार्नका लागि सशक्त सरकारको निर्माण भई यसले निडरताका साथ देश विकासका योजना अगाडि ल्याउनुपर्ने र यसका लागि आफू मन, बचन र कर्मले लागिपर्ने प्रतिबद्धता राष्ट्रपतिले जनाउनुभएको छ ।
लेबनानको राजनीतिमा दशकौँदेखि नेतृत्वमा रहनुभएका ८३ वर्षीय आवनलाई गत सोमबार यहाँको संसदले निर्वाचित गरेको थियो ।
निर्वाचनपछिको पहिलो औपचारिक सम्बोधनमा राष्ट्रपति कार्यालय परिसर वाब्दामा जम्मा भएका हजारौँ समर्थक तथा शुभेच्छुकलाई देशमा कानुनी राजको महसुस हुने गरी आफ्नो नयाँ सरकारले काम गर्नेसमेत बताउनुभयो ।

करिब २९ महिनादेखि राष्ट्र प्रमुखविहीन रहेपछि निर्वाचित बनेका राष्ट्रपतिले आफूले निर्वाचित बनेपछि राष्ट्रले नयाँपन महसुस गरिसकेकोसमेत दाबी गर्नुभयो । रासस/एपी