चिण्डो र जीवन

  किशोर बायुङ राई
14 Shares

kishor-bahing

एउटै लहरामा
लहरिन्छन् सयौँ चिण्डोहरु ।
जसरी रहरलाग्दो सपना
झुलिरहन्छन् स्वप्नबगैँचामा

कुनै सलक्क परेको
कुनै हलक्कै परेको
मनै हर्नेगरी सप्रिजान्छन्
कुनै कक्रीन्छन्
बाङ्गिन्छन् रोगले सताएझैँ
ठूलो
सानो
बाँचेकाहरुपनि

कतिपय त !
फूलमै झरिजान्छन्
चिचिलोमै मरिजान्छन्
गङ्गटे धुप नपाएर
कतिपय चाहिँ
रोगी बन्छन्

चोट लाग्छन्
जीवनभर खोटी बन्छन्
विचरा !!!
एउटै लहरामा लहरिएका चिण्डोहरु ।

कोही पुग्छन् नक्सको थानभरी
कोही पुग्छन् विजुवाको थानभरी
कोही पुग्छन् सिलिचाको हातहातमा
ब्यार्वा थानमा
नाग्ले थानमा
बैदाङ् थानमा
त! कोही फुटीजान्छन् अकालमै
प्रोचालिङ्खाम नसाँधी
लेखान्त आ आफ्नै
एउटै लहरामा लहरिएका चिण्डोहरु ।

कुनैले घाम देख्छन्
कुनैले देख्दैनन्
कुनै मरीमरी झुण्डिन्छन्
कुनै आड पाउछन्
कुनै रुझ्छन्
कुनै रुझ्दैनन्
हुन त !
एउटै लहरामा लहरिएका चिण्डोहरु

र,
घतलाग्दो कुरो यही हो
आखिर
भाग्यको खेला न हो
एउटै लहरामा लहरिएका चिण्डोहरु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार