ऐतिहासिकस्थल संरक्षणको पर्खाइमा

0 Shares

म्याग्दी, २६ कात्तिक । पर्यटकीय, ऐतिहासिक र धार्मिक महत्व बोकेको बेनी नगरपालिका–१२ स्थित डढेकोट र ढोलथान संरक्षणको पर्खाइमा रहेका छन् ।

बाइसे–चौबिसे राज्यका पालामा तत्कालीन मल्ल राजाले यस स्थानबाट राज्य सञ्चालन गरेका थिए । ढडेकोट र ढोलथान दरबार, कोतघर, सुरुङ, पर्खाल लगायतका ऐतिहासिक सम्पदा संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएका स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय बासिन्दा यामबहादुर बानियाँले महत्वपूर्ण ऐतिहासिकस्थलको संरक्षणमा सरोकारवालाले बेवास्ता गरेको गुनासो गर्नुभयो । समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित यस क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे्र, नीलगिरिलगायत हिमशृङ्खला, सूर्योदय र ग्रामीण बस्तीको दृश्य अवलोकन गर्न सकिन्छ ।

यसैगरी, डढेकोट दरबार परिसरमा तत्कालीन राजपरिवारले निर्माण गरेको वैरभूमे, भूमे, बडुवा, नरसिंह, सिद्धलगायत स्थानको समेत संरक्षण हुन सकेको छैन । दरबारका संरचनाको संरक्षण, यस स्थानसम्म पुग्ने पदमार्ग र धार्मिक तथा पर्यटकीय महत्वका विषयमा प्रचारप्रसार गर्न सकेमा पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बानियाँले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार