दलबीच सहमति भएन, मिलाउने जिम्मा समितिलाई

0 Shares

वालिङ, २६ कात्तिक । स्थानीय तह पुनःसंरचनाअन्तर्गत स्याङ्जामा ११ केन्द्र बनाउने भने पनि दलबीच सहमति हुन नसक्दा ढिलाइ भएको छ ।

जिल्लालाई पाँच नगरपालिका र ६ गाउँपालिका गरी ११ केन्द्र बनाई सिफारिस गर्ने भनिए पनि अन्तिम समयमा आएर दलबीच भूगोलमा नमिलेपछि सहमति हुन नसकेको हो । दलले भूगोलको भागबन्डा गर्दै भौगोलिक बनावट मिलाउनुको सट्टा आफू समर्थित क्षेत्रको खोजीमा लागेर विवाद चर्केपछि समितिलाई जिम्मेवारी दिन एकजुट भएका हुन् ।

दल ११ वटा स्थानीय तह बनाउने सहमतिको नजिक देखिए पनि गाविस तथा वडालाई कता कता राख्ने भन्नेमा सहमति जुट्न नसकेपछि त्यसलाई टुङ्ग्याउने जिम्मा स्थानीय तह पुनःसंरचना प्राविधिक समितिलाई दिइएको हो । समितिले भूगोल मिलाएपछि सिफारिस गर्ने बताइएको छ ।

स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका हुन् भने गाउँपालिकातर्फ आँधीखोला, फेदीखोला, अर्जुनचौपारी, बिरुवा अर्चले, हरिनास र कालीगण्डकी बनाउने लगभग निश्चित भएको छ । सिफारिसमा परेको गल्याङ प्रस्तावित नगरपालिका हो ।

नगरपालिकातर्फ पुतलीबजारको स्याङ्जाबजार, भीरकोटको बयरघारी, वालिङको वालिङबजार, चापाकोटको सुन्तलीटार र गल्याङको गल्याङबजार केन्द्र रहने गरी राजनीतिक दलबीच सहमति भएको अखण्ड नेपाल पार्टीका जिल्ला सचिव गोकुल अधिकारीले जानकारी दिनुभयो ।

दलबीच भएको सहमतिअनुसार गाउँपालिकातर्फ भने आँधीखोलाको सेतीदोभान, फेदीखोलाको फेदीखोलाबजार, अर्जुनचौपारीको अर्जुनचौपारीबजार, बिरुवा अर्चलेको बिरुवाबजार, हरिनासको चिसापानी र कालीगण्डकीको मिर्मी वा बिर्घाको भुष्टुङलाई केन्द्र बनाइने भएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार