लैङ्गिक सहायता कक्ष सञ्चालित

0 Shares

भक्तपुर, २९ कात्तिक । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पहिलो पटक लैङ्गिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

सहायता कक्षको आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले उद्घाटन गर्दै अझै पनि ८० प्रतिशत लैङ्गिक हिंसाका घटना बाहिर नआउने र आएका २० प्रतिशत घटनामा पनि दबाबका कारण कमै मात्र पीडकमाथि कारबाही हुने गरेकाले यस्ता कक्षले लैङ्गिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लैङ्गिक हिंसाका कारण समयमै मनोपरामर्श दिन नपाउँदा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले हिंसामा परेकाका लागि यो कक्ष कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

वज्राचार्यकै पहलमा स्थापित कक्षमा दुई प्रहरीले २४ घन्टै सेवा दिने, लैङ्गिक हिंसामा परेकालाई अस्पतालले उपचार गर्ने र सामुदायिक सेवा केन्द्रले मनोपरामर्श दिने गरी सेवा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक रञ्जित मारिकुले बताउनुभयो ।

कार्यक्रममा महिला विकास कार्यालयका प्रमुख नीलाकुमारी घिमिरेले लैङ्गिक हिंसाबाट धेरै बालिका तथा किशोरी प्रभावित भएकाले यस कक्षको स्थापनाले उनीहरुलाई कानुनी उपचारसम्म पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार