खैरो हेरोइनसहित तीन पक्राउ

0 Shares

चन्द्रौटा (कपिलवस्तु), ३० कात्तिक । कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन् । ५.७५ ग्राम खैरो हेरोइन लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी लागुऔषध मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

उनीहरु लागुऔषध प्रयोग गर्नेसहित यस क्षेत्रमा बेचबिखन समेत गर्दै आएको पाइएको प्रहरीले बताएको छ । १५ दिन पहिले आफूले त्यसबारे सूचना पाएको र पक्राउ गर्ने उद्देश्यले आफ्नै नेतृत्वमा काम गरी १५ दिनपछि पक्राउ गर्न सफल भएको निरीक्षक पोखरेलले बताउनुभयो । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढेको र यसको बेचबिखन गर्ने सक्रिय भएको पाइएको हँुदा निगरानी बढाइएको उहाँले बताउनुभयो ।

थापा अझै भेटिएनन्

यसैबीच, कपिलवस्तुको बाणगङ्गा–४ गोगापुर निवासी वीरुबहादुर थापा हराएको महिना दिन बित्न थाल्दा समेत अझै भेट्टिएका छैनन् । कामता माध्यमिक विद्यालय करैलीयामा कार्यरत शिक्षक थापा कात्तिक ३ गतेदेखि सम्पर्कमा नआएपछि अहिले उनको विद्यालय परिवार र घरपरिवार चिन्तामा परेको छ ।

कात्तिक ३ गते बिहान विद्यालय जान्छु भनी घरबाट हिँडेका उनी विद्यालयमा समेत सो दिन नआएको विद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले जानकारी दिनुभयो । थापाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार