नवलपरासी, ३० कात्तिक । बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
फरार अभियुक्त कारागार चलान
यसैबीच, नवलपरासी जिल्ला अदालतबाट सजाय पाएर फरार भएका दुुई जनालाई प्रहरीले पक्राउ गरी जिल्ला कारागार चलान गरेको छ ।
जिल्ला अदालतबाट वनसम्बन्धी मुद्दा फैसला भई फरार भएका दुई जनालाई पक्राउ गरी प्रहरीले सोमबार जिल्ला अदालत नवलपरासीमा चलान गरेको हो ।
एक महिना कैद र रु दुई लाख ३२ हजार जरिवाना फैसला भई फरार रहेका नवलपरासी देवचुली–१५ प्रगतीनगर बस्ने २७ वर्षीय भवेश्वर लम्साल र कावासोती–१ बस्ने ३२ वर्षीय राजकुमार सुनार पक्राउ परेका हुन् ।
अदालतले २०७१ जेठ २१ गते गरेको फैसला अनुसार उनीहरुलाई सो सजाय सुनाइएको थियो ।