४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

जनभावना अनुसार भएन गाउँपालिकाको सिमाङकन र नामाङकन



मधेसी जनजाती दलित लगायत केही समुदाय असन्तुष्ट रहे पनि संविधान जारी भैसकेको छ । संविधान जारी भए पश्चात विस्तारै कार्यान्वयन हुँदैछ । राज्यको पुनःसंरचनाको लागि सबै जिल्लाबाट संभावित गाउ तथा नगरपालिकाहरू राज्य पुनःसरंचना आयोगमा प्राविधिक टोलीले पठाइरहेको छ । यसमा सोलुखुम्बु जिल्लाबाट पनि सर्वदलिय सहमतिमा एक नगरपालिका र सात गाउपालिकाको खाका प्राविधिक टोलीले ओयोगमा पठाइसकेको छ । hemanta-kiratउक्त संरचनाको खाका पुनःसंरचना ओयोग पुग्दा नपूग्दै विरोध पनि हुन सुरू भएको छ । नेचा सल्यान गाउपालिका अवैज्ञानिक भएको र केन्द्र नेचा नपारिएको विषयमा नेचावासीले जिविस घेराउ तालाबन्द लगायत विभिन्न विरोधको कार्यक्रम गरे पछि सबै दल तथा सम्बन्धित निकाय सच्याउन सहमत भएको छ । तिड़लावासी को इच्छा भावना विपरित सिमित स्वार्थको लागि नेचा सल्यान गाउपालिकामा तिड़ला मिसाएर सल्यान केन्द्र बनाइएको थियो । जसको विरोध त हुनै थियो । खाका पुनःसरंचना आयोगमा पठाउनु भन्दा पहिले नै स्थानियको जनभावना अनुरुप काम गर्नु पर्थ्यो तर त्यो त हुन सकेन ।
स्थानीय तहको पुनःसरंचना वैज्ञानिक मापन गरेर भन्दा पनि सिमित स्वार्थमा रहेर गाउ तथा नगरपालिका खाका तयार गरियो । पहिचानको पाँच आधार जाती, भाषा, संस्कृति, भौगोलिक क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता र सामार्थ्यको चार आधार आर्थिक अन्तरसम्बन्ध र सामार्थ्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोत र साधनको उपलब्धता, प्रशासनिक सुगमता सहित नेपालको संविधानमा सुनिश्चित गरेको छ । पुनः संरचना पनि त्यसै अनुरूप हुनु पर्थ्यो तर त्यसो हुन सकेन । पुरानै किसीमले इलाका नः ७ लाई नेचा सल्यान गाउपालिका मात्र बनाइयो । पहिचानको आधारलाई समेत ख्याल गरिएन नेचा सल्यानमा जोखिम तथा लोप हुन लागेको बायुड़ भाषाको सम्बोधन हुने गरि बायुड़ गाउपालिका नामाकरण हुनु सक्थ्यो । माओवादी केन्द्रले बायुड़ गाउपालिकाको प्रस्तावित खाकासम्म त बनाएको थियो तर त्यो छलफलको लागि अघि सारियो की ? सारिएन ? यदि सारिएको थियो भने यो किन हुन सकेन ? यसको जवाफ स्वयंम माओवादी केन्द्र सग मात्र छ । नेचा सल्यानमा बायुड़ भाषिहरू झण्डै २१ प्रतिशत हारहारीमा छन । (२०६८ को गणना अनुसार) नेपाली भाषा पछि सबै भन्दा धेरै हो । नेपाली भाषा राष्ट्रीय भाषा भएकोले यो माथिल्लो तहबाट सम्बोधन भइ सकेको छ । यसरी जोखिममा रहेका लोप हुन लागेका भाषाको संरक्षण र विकासका लागि पनि संम्बोधन हुनु पर्थ्यो । नेचा सल्यान ऐतिहासिक रूपमा बायुड़ पुर्खाहरूले खेतीयोग्य बस्न योग्य बनाएको भूमी पनि हो । यसरी बायुड़ राई पुर्खाहरूको रगत पसिनाले योग्य भएको नेचा सल्यान लाई बायुड़ गाउपालिकाबाट पुकार्न सकिन्छ । यो क्षेत्रको कृषिभूमिका जन्मदाता बायुड़हरूको नामबाट बायुड़ गाउपालिका बनाइयोस । बायुड़ भाषीहरूलाई सम्बोधन गरियोस । बायुड़ भाषा संस्कार सस्कृतीको संरक्षण विकास हुने कदम उठाइयोस । तेती मात्र नभई स्थानिय सरकारमा पनि जातियसंख्याको अनुपातमा नै प्रतिनिधित्व रहनुपर्दछ । त्यसैले मात्र स्थानीय विकासमा सहभागिता बढ्ने छ र सबै समुदायको सहभागिताले मात्रै स्थानीय विकास संभव छ ।

प्रकाशित मिति : १ मंसिर २०७३, बुधबार  ५ : ४० बजे