काठमाडौँ, २ मङ्सिर । संविधानप्रति असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले सबै दल यसमा सहमत हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सहभागी वक्ताले राष्ट्रलाई घात नहुने गरी असन्तुष्ट पक्षको भावनालाई सम्बोधन गर्न सुझाव दिनुभयो । सो अवसरमा नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले संविधानलाई सबैको अपनत्व हुने खालको बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले)का नेता रेवतीरमण भण्डारीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको बताउँदै संविधान संशोधनका लागि औचित्य र आधार पुष्टि हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले प्रदेशको सीमाङ्कनको विवाद समाधान गर्नका लागि आठ प्रदेश बनाएर भए पनि अघि बढ्नुपर्ने बताउँदै सीमाङ्कनका विषयमा मधेसी र थारु जनतामा अझै पनि आशङ्का रहेको र ती विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर अहिले छलफल भइरहेको जानकारी दिनुभयो ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायका प्रमुख र संवैधानिक अङ्गको प्रमुख बनाउने माग मोर्चाको नभएको स्पष्ट गर्दै मुलुकको समस्या समाधानका लागि सबै दलको एकता आवश्यक रहेको बताउनुभयो । रासस