धनगढी, २ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँको सम्मानमा नेपाली काँग्रेस कैलालीले आज यहाँ आयोजना गरेको अभिनन्दन कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान संशोधनका बारेमा मैले आफैं मधेस केन्द्रित दलसँग वार्ता गरें, म, एमालेका अध्यक्ष र प्रधानमन्त्रीबीच यसबारे सकारात्मक वार्ता पनि भएको छ, अब समस्या समाधान हुन्छ ।”
सभापति देउवाले संविधान संशोधन भएर मुलुकमा स्थानीय, राष्ट्रिय र सङ्घीय चुनाव भई संविधान कार्यान्वयनको चरण पनि पूरा हुने बताउँदै “संविधान कार्यान्वयनसँगै सबै प्रकारका अन्योलता, शङ्का÷उपशङ्का हट्ने छन् ।” भन्नुभयो ।
विकासका विषयमा आफूले बिगतमा बोलेका प्रतिबद्धता पूरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले खुटियादेखि दिपायलसम्मको सडक, अत्तरियादेखि गौरीफन्टा सीमासम्म छ लेनको सडक र सहजपुरदेखि बोगटानसम्मको सडक निर्माण तथा मोहना नदी नियन्त्रणको काम पनि अघि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
सभापति देउवाले पार्टीमा एकता जरुरी रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन जनताको हृदय जितेर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले सभापति देउवालाई अभिनन्दन गर्नुभएको थियो । सुदूरपश्चिमबाट नेपाली काँग्रेसको केन्द्रीय सभापतिमा विजयी हुने देउवा पहिलो नेता हुनुहुन्छ । रासस