संविधान कार्यान्वयन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभारः नेता पौडेल

0 Shares

पर्सा, २ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ ।

काँग्रेस पर्साले यहाँ आज आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “संविधान कार्यान्वयनका लागि मुलुकमा स्थानीय तहको निर्वाचन हुनु अपरिहार्य छ, निर्वाचनको वातावरण बनाउन संविधान संशोधन गर्नुपर्ने हुन्छ, त्यसैले संविधान संशोधनका लागि एमाले र मधेसी मोर्चा दुबैले आ–आप्mनो हठ छोड्नुपर्छ ।”

नेता पौडेलले चैत महिनासम्म स्थानीय तहको निर्वाचन सम्पन्न नभए प्राप्त भएको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नै गुमिन सक्ने खतरा रहेको उल्लेखगर्दै एतिहासिक जनआन्दोलनवाट प्राप्त भएका उपलब्धिको रक्षा गर्नका लागि भए पनि एमाले र मधेसी मोर्चालाई संविधान संशोधनका बिषयमा लचिलो हुन आग्रह गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंहको आडमा भ्रष्टाचारलाई नियन्त्रण गर्न निर्माण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै समाप्त पार्न नहुने बताउँदै उहाँले प्रमुख आयुक्त कार्कीको विषय संसद्मा रहेको र संसद्ले छानबिन गरी दोषी ठहर भए उनलाई प्रचलित कानुन बमोजिम दण्ड गर्न सकिन्छ तर त्यसैको आडमा अख्तियारलाई समाप्त पार्न खाजें मुलुकमा भ्रष्टाचार झन बढेर जाने भएकाले यसतर्फ सबै सम्बेदनशील हुनुपर्दछ भन्नुभयो ।

नेता पौडेलले हाल मुलुकमा भ्रष्टाचार संस्कारका रुपमा विकसित हँुदै गएको र पार्टीका नेता कार्यकर्तादेखि कर्मचारी भ्रष्टाचारमा लिप्त भई भागशान्ति जय नेपालमा लागेकाले मुलुकबाट भ्रष्टाचारलाई समाप्त पार्न अख्तियार जस्तो संवैधानिक सङ्गठनको आवश्यकता रहेकाले यसको अस्तित्वलाई समाप्त पार्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गाउँपालिकाको विषयलाई ठूलो समस्याका रुपमा नदेखी यसलाई सङ्घीयताको अभ्यासका रुपमा लिन कार्यकर्तालाई आग्रह गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेकाले निर्वाचनलाई सफल बनाउन सबै लाग्नुपर्ने सुझाव दिनुभयो ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेसका मागलाई चाँडोभन्दा चाँडो सम्बोधन गरी मुलुकलाई अगाडि बढाउन सबै दल गम्भीर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्वतन्त्रता सेनानी हरिहरप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य आफताब आलम, सांसद राजेन्द्रबहादुर अमात्य, अनिल रुङगटा, रमाकृष्ण घिमिरे तथा पूर्वसभासद् अजय द्विवेदी, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, शोभाकर पराजुली र शम्भू हजरा पासवान लगायतका वक्ताले मधेस समस्या समाधानका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार