पाल्पा, ४ मङ्सिर । नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीप ज्ञवालीले देशमा तीनै तहका निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी, पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले जनताको हित, आवश्यकता र समयको माग अनुसार नै संविधान संशोधनको लागि आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो ।
उहाँले संविधान संशोधन, अङ्गिकृत नागरिकता, सीमाङ्न हेरफेर वास्तविक मधेसी जनताको हितको लागि भन्दा मधेसवादी दलहरुको स्वार्थको लागि मात्र भएको विचार राख्नु भयो ।

अङ्गिकृत नागरिकलाई राज्यका सबै तहमा पुग्ने अधिकार दिने, वर्तमान सात प्रदेशको सीमाङ्कन हेरफेर गर्ने र ५ नम्बर प्रदेशलाई विभाजन गर्नेलगायतका विषयमा नेकपा एमालेको लागि संविधान संशोधनको स्वीकार्य नभएको सचिव ज्ञवालीले स्पष्ट पार्नु भयो ।
सरकारबाट संविधान संशोधन गर्ने बारेमा नेकपा (एमाले)लाई कुनै आधिकारिक धारणा नआएको नेता ज्ञवालीले बताउनुभयो ।