नेवा अभिनन्दित

0 Shares

काठमाडौँ, ४ मङ्सिर । नेपाल भाषाको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका नेपाल भाषाका व्यक्तित्व लक्षमण नेवालाई आज यहाँ आयोजित कार्यक्रममा विभिन्न १३ सङ्घ संस्थाले अभिनन्दन गरेको छ ।

२००७ सालमा जन्मनु भएका नेवाले २०२२ सालमा रेडियो नेपालले नेपाल भाषाको समाचार प्रशारणमा रोक लगाएपछि त्यस बेलाको सरकार विरुद्ध खरो रुपमा उत्रनुका साथै नेपाल भाषा क्षेत्रमा म्हयाय् मचा नखःको सुरुवात, त्रिशूलीमा बोडिङ स्कुलको स्थापना, ठाउँठाउँमा लिपि कक्षा सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै पुराना भजनको सङ्ग्रहको पुस्तक प्रकाशन, त्रिशूलीमा धिमेबाजाको स्थापना, नेपाल भाषा, तामाङ र नेपाली भाषामा पत्रिका प्रकाशन, नेवारी भाषामा प्याख (नाटक) प्रकाशन जस्ता महत्वपूर्ण योगदान नेवाले गर्नुभएको थियो ।

कार्यक्रममा संस्कृतिविद् डा चुन्दा बज्राचार्यले नेवार समुदायको संस्कृति र कला नेवारको मात्र नभई देशको नै गौरव रहेको भन्दै यसको संरक्षणका लागि जनता आफै अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल भाषा परिषद्का सदस्य सचिव मल्ल के सुन्दरले अभिनन्दित नेवाले समाजमा रहेको विभेद् तथा शोषणलाई अन्त्य गर्नका लागि जीवनभर सङ्घर्ष गर्नुभएको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल भाषा क्षेत्रका जनकवि दुर्गालाल श्रेष्ठले नेवालाई अभिनन्दन गर्दै नेपालमा प्रजातन्त्र स्थापना भए पनि नेवार जातिले अझै आफनो हक तथा अधिकार नपाएको बताउँदै नेवा राज्य सुनिश्चित गर्न सबै एकतावद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बामपन्थी नेता पद्मरत्न तुलाधरले समाज परिवर्तनका लागि राज्यको ध्यान जानुपर्ने भन्दै नेवार समुदायको कला, संस्कृतिको संरक्षणका लागि राज्यले समान व्यवहार नगरेसम्म देशको कला र संस्कृतिको संरक्षण हुन नसक्ने औँल्याउनुभयो ।

मुस्लिम समाजका अध्यक्ष नफिक आलम, सङ्घीय समाजवादी नेवा आन्दोलनका अध्यक्ष सत्यनारायण डङ्गोल, लक्षमण नेवा अभिनन्दन मूलसमारोह समितिका संयोजक राजेन्द्र अमात्यलगायतका वक्ताले नेपाल भाषाको विविध क्षेत्रमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार