३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

उपत्यकाका प्रमुख नदीबाट पन्ध्र मेट्रिक टन फोहर व्यवस्थापन


४ मंसिर २०७३, शनिबार  

0
Shares

काठमाडौँ, ४ मङ्सिर । उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

बागमती सफाइ महाअभियानको १८४ औँ हप्तामा आज थापाथली पुलमुनिको ललितपुर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीको उपस्थितिमा भएको आजको सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभयो ।
मुख्यसचिव सुवेदीले ललितपुरतर्फको बागमती किनारका घर घर छिरेर नदीमा फोहर नफाल्न, फाल्नेलाई कारबाहीका लागि नगरपालिकामा बुझाउन र नदी सफाइमा सहभागी हुन अनुरोध गर्नुभयो ।

सफाइमा सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, पूर्वसचिव केशव भट्टराई पनि सहभागी हुनुभयो ।

सफाइ महाअभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता रहेको अधिकार सम्पन्न बागमती समितिकी माला खरेलले जानकारी दिनुभयो ।

रुद्रमती (धोबीखोला) सफाइको १४३ औँ हप्तामा आज रातोपुलदेखि सेतोपुलसम्मको नदीभित्र सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो ।

आजको रुद्रमती सफाइमा विप्लव माओवादीको भ्रातृ संस्था राष्ट्रका लागि युवा सङ्गठनका युवा पनि सहभागी भए । सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, वेलकेयर अस्पताल लगायतको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी पशुपति भण्डारखाल क्षेत्रमा फोहर थुपार्नेस्थल निर्माण गर्ने तयारी समेत गरेको छ ।

विष्णुमती सफाइको ११७ औँ हप्तामा आज परोपकारपुलमुनि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी वीजेन्द्र लामाले जानकारी दिनुभयो । सफाइ अभियानमा सहभागी हुँदै महानगरपालिका मानव संसाधन महाशाखा प्रमुख हरिकुँवर श्रेष्ठले विष्णुमती नदी किनारको दायाँबायाँ पालन गरिएका बङ्गुर फार्म हटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासी एवम् सङ्घ संस्थाको उपस्थिति थियो । विष्णुमती सफाइ अभियानलाई बिटीएल ट्रेड प्रालिले बुट, मास्क र पञ्जालगायत आवश्यक सामग्री उपलब्ध गरायो ।

नख्खु खोला सफाइको ६५ औँ हप्तामा आज दिव्यनगरदेखि सनराइज अपार्टमेन्टसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक बलुदेव पाण्डेले जानकारी दिनुभयो ।

नख्खु खोला सफाइ अभियानमा विश्व सफाइ अभियानका अभियानकर्मीद्वय राजमान मानव र सुशीला महर्जन पनि सहभागी हुनुभयो । आजै गुह्येश्वरीमाथिको बागमती नदी किनारमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिले सफाइ गरे ।

प्रकाशित मिति : ४ मंसिर २०७३, शनिबार  ९ : १० बजे