५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

सङ्घीय संरचनामा फेरबदल गर्नु हुँदैन : नेता महत



भैरहवा, ४ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले तत्कालका लागि सङ्घीय संरचनामा फेरबदल नगरी साविककै संरचनामा निर्वाचन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

जेसिआइ सिद्धार्थ नेपाल र जेसीआइ सिद्धार्थ लेडीले संयुक्तरुपमा आज भैरहवामा आयोजना गरेको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता महतले वर्तमान संरचनामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

“यही संरचनामा निर्वाचन नगरी पुनःसंरचनातर्फ गए त्यसले अरु एक÷दुई वर्ष सङ्क्रमणकाल लम्ब्याउने भएकाले तत्काल यही संरचनामा स्थानीय निर्वाचन गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो ।

अहिलेको समय आर्थिक उपार्जनमा जोडिने बेला भएकाले संविधानको कार्यान्वयन गर्दै शान्ति र समृद्धि कायम गर्न युवाको भूमिका अहम रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरे, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले जसरी संविधान ल्याउन युवाले दबाब सृजना गरे त्यसरी नै यसको कार्यान्वयमा पनि दबाब दिनुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति : ४ मंसिर २०७३, शनिबार  २ : ५२ बजे