कर्णालीका स्वास्थ्य चौकीमा कुपोषणको उपचार सेवा सुरु हुने

0 Shares

काठमाडौँ, ४ मङ्सिर । कर्णाली अञ्चलका बालबालिकामा हुने कडाखालको कुपोषणको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरुमा स्वास्थ्य मन्त्रालयले बहिरङ्ग सेवा सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा अञ्चलभरिका ५० वटा स्वास्थ्य चौकीमा कडा कुपोषणको शीध्र उपचारका लागि बहिरङ्ग सेवा केन्द्र स्थापना गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बाल स्वास्थ्य महाशाखाले आगामी तीन महिनाभित्र कर्णालीभरि पोषण कार्यक्रम लागू गर्ने तयारी गरेको हो ।

महाशाखाले स्थानीय रुपमा महिला स्वयम्सेविका तथा जनचेतनामूलक कार्यक्रममार्फत कुपोषणको पहिचान र समाधानका लागि पहल गर्ने जनाएको छ ।

मन्त्रालयले ५० वटा स्वास्थ्य चौकीमा कुपोषणको उपचारका लागि तयारी खाना पु¥याउने र केही स्थानमा सर्वोत्तम पिठो उपलब्ध गरिरहेको छ ।

कुपोषण भएका बालबालिका उपचार गर्न आउँदा यातायात खर्च र बिरामी कुरुवाका लागिसमेत केही सहुलियत दिने महाशाखाको तयारी छ ।

महाशाखाले कुपोषण भएका बालबालिकाको उपचारका लागि ७५ वटै जिल्ला अस्पतालमा रु एक एक लाखबराबरको कुपोषण उपचार कोषसमेत स्थापना गर्ने बताएको छ ।

बालमहाशाखामा अहिलेसम्म प्राप्त विवरणका अनुसार कुपोषणका बालबालिका सबैभन्दा धेरै कञ्चनपुर र सप्तरीमा बढी देखिएको छ ।

कुपोषण भएकामध्ये हालसम्म ४० हजारजनाले अस्पतालमा उपचार गराएका छन् ।

नेपालमा सन् २०१० देखि पाँच जिल्लाबाट कुपोषणविरुद्धको अभियान सुरु भएको महाशाखाका प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

बर्दिया, अछाम, कञ्चनपुर, मुगु र जजरकोटबाट सुरु भएको अभियान अहिले जुम्ला, कपिलवस्तु, सर्लाही, सप्तरी, धनुषा, ओखलढुङ्गा, कालीकोट, हुम्ला, डोल्पा, बझाङ, बाजुरा, बैतडी र डडेल्धुरामा सञ्चालन भइरहेको छ ।

दीर्घ कुपोषणबाट नेपालमा पाँच वर्षमुनिका करिब ४१ प्रतिशत बालबालिका ग्रस्त रहेका छन् ।

कम तौल, पुड्कोपन, ख्याउटेपनलगायतका लक्षण देखिएकालाई कुपोषण भएको मानिन्छ ।

विशेषगरी विपन्न वर्गका महिला तथा बालबालिका विभिन्न सूक्ष्म पोषक तत्वको अभावले कुपोषण भएको पाइएको छ भने पाँच वर्षमुनिका एक तिहाइ बालबालिकाको मृत्यूको कारण दीर्घकालीन कुपोषण रहेको छ ।

कुपोषणको सिकार भएका बालबालिका पछि गएर दीर्घरोगी हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार