२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

सुरुङ्गा गोल्ड कप उद्घाटन खेलमा पुलिस विजयी



झापा, ४ मङ्सिर । सुरुङ्गामा ‘सहारा सुरुङ्गा गोल्ड कप’ प्रतियोगिताको चौथो संस्करण आजदेखि सुरु भएको छ ।

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कनकाई उच्च माविको खेल मैदानमा सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । सुरुङ्गा जेसीजको आयोजना र सहारा बचत तथा ऋण सहकारी संस्थाको मुख्य प्रायोजनमा सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेना, नेपाल पुुलिस क्लव, सशस्त्र प्रहरीको एपिएफ, हुन्डाई मनाङ मस्र्याङ्दी क्लव, सङ्कटा क्लव काठमाडौँ, रुपन्देही एघार, रमपम झापा एघार र आयोजक सुरुङ्गा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु तीन लाख ५१ हजार १११ र उपविजेताले रु दुई लाख ५१ हजार १११ पुरस्कार पाउनेछ । विगत चार वर्षदेखि लगातार सञ्चालन भइरहेको प्रतियोगिताले जिल्लाको फुटबलको विकासलाई मद्यत पुग्ने सुरुङ्गा जेसिजकी अध्यक्ष सरला पोखरेलको भनाइ छ ।

यसैबीच उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सुरुङ्गा–११ लाई ४–० गोल अन्तरले पराजित ग¥यो । पुलिसको तर्फबाट दिनेश गुरुङ, तेज तामाङ, निरकुमार राई र जुमानु राइले गोल गरेका थिए । आइतबार त्रिभुवन आर्मी क्लब र रुपन्देही– ११ बीच खेल हुनेछ । रासस

प्रकाशित मिति : ४ मंसिर २०७३, शनिबार  २ : ५५ बजे