बौद्ध धर्मगुरुबारे ‘वृत्तचित्र’ सार्वजनिक

0 Shares

काठमाडौँ, ४ मङ्सिर । बौद्ध धर्मगुरु खेन्छेन ठाङ्गु रिन्पोछेका मानव कल्याणकारी मार्गदर्शन समेटिएको वृत्तचित्र आज सार्वजनिक गरिएको छ ।

सन् १९३३ मा तत्कालीन तिब्बतको खाममा जन्मनुभएका गुरुले विभिन्न समयमा नेपाल तथा भारतमा स्थापना गरेको बौद्ध अध्ययन केन्द्र तथा त्यहाँ अध्ययन गर्ने हिमाली भेगका गरिब परिवारका बालबालिकालाई निःशुल्क उपलब्ध गराएको आधुनिक शिक्षाका बारेमा वृत्तचित्रमा उल्लेख गरिएको छ ।

करिब एक घन्टाभन्दा बढीको समयावधि रहेको वृत्तचित्रमा लुम्बिनी, नमोबुद्धलगायत बौद्ध तीर्थस्थलकाबारेमा पनि प्रसस्त सूचनाका साथै मानवलाई सत्कार्यमा उत्प्रेरित हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको प्रवचन समावेश गरिएको छ । वृत्तचित्रको निर्देशन बौद्ध विद्वान् टीका शेर्पाले गर्नुभएको छ ।

पूर्वसंस्कृतिमन्त्री रामकुमार श्रेष्ठले उक्त वृत्तचित्रको विमोचन गर्दै आध्यात्मिक क्षेत्रको सहयोगले सर्वसाधारणलाई नैतिकवान् बन्न र शान्तिपूर्ण समाज निर्माणका लागि भूमिका निर्वाह गर्ने र समाजको रुपान्तरणमा मद्दत गर्ने सन्देश वृत्तचित्रले दिएको बताउनुभयो ।

बौद्ध विद्वान् टीका शेर्पाले सामाजिक सेवाका माध्यमबाट सद्भाव, भाइचारा तथा मानवीय एकता अभिवृद्धि गर्न उक्त वृत्तचित्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार