२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

चार आयुक्तसंग सर्वोच्चद्वारा लिखित जवाफ माग



काठमाडौँ, ५ मङ्सिर । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यताअनुसार नहुनुका कारणसहित १५ दिनभित्र लिखित जवाफ दिन चार आयुक्तका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आयुक्तको नियुक्तिको योग्यतामा प्रश्न उठेको हुनाले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता दक्षबहादुर क्षेत्रीले यही मङ्सिर २ गते आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको तर आयोगका चार आयुक्तमा सो योग्यता नभएको जिकिर गरिएको छ ।

आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नियुक्तिकै विषयलाई लिएर दिइएको मुद्दासँगै अदालतमा आज अरु चारजनाको नियुक्तिको विषयमा पनि प्रश्न उठाइएको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७३, आइतबार  ५ : ०२ बजे