कञ्चनपुर, ६ मङ्सिर । प्राङ्गारिक मल उत्पादनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका महाकाली किसान समूहमा आबद्ध किसानले व्यावसायिक रुपमा गड्यौँलापालन गरेका छन् ।
कृषि विकास कार्यालयबाट प्रतिकिसान रु २५ हजारका दरले पाएको अनुदानबाट समूहमा आबद्ध ५० किसानले गड्यौँला पालनलार्ई व्यावसायिक रुप दिएका हुन् ।
घरमै पाइने झारपात, कुहिने फोहर, गोबर, सुतीका बोरा, केराको थाममा गड्यौँँला राखेर मल उत्पादनको कार्य भइरहेको छ । गड्यौँलापालन गर्दै आएका ४९ जनाले एक हजार र एकजनाले दुई हजार गड्यौँला राखेर प्राङ्गारिक मल उत्पादन गर्दै आएको किसान सिद्धराज जोशीले बताउनुभयो ।
गड्यौँला चिस्यानमा बस्न रुचाउने जीव भएकाले बढी चिस्यान बनाई राख्ने गरिएको उहाँले जानकारी दिनुभयो । गड्यौँला राखेर तयार गरिएको मल अग्र्यानिक तरकारी उत्पादनमा प्रयोग भइरहेको किसान कमला विष्टले बताउनुभयो ।
आफूहरुले प्राङ्गारिक मलको प्रयोग गरी तीन कट्ठादेखि पाँच कट्ठा जग्गामा अग्र्यानिक तरकारीखेती गरेको र मलको उत्पादन बढाउँदै तरकारीको क्षेत्रफलसमेत बढाउँदै लैजाने सोच रहेको उहाँले जानकारी दिनुभयो
“अग्र्यानिक तरकारीको बजारमा दाम र माग उच्च भएकाले तरकारीको उत्पादन बढाउनका लागि मल उत्पादनमा जोड दिएका छौँ” – अर्का किसान शेरबहादुर सिंहले भन्नुभयो ।
“ प्राङ्गारिक मल उत्पादन हुन थालेपछि यहाँका किसानले विगतमा जस्तो रसायनिक मल खोज्न बजारतर्फ दौडिनुपर्ने अवस्था छैन।” स्थानीयवासी अर्जुन साउदले भन्नुभयो– “घरमै गड्यौँला राखेर बनाइएको मल किसानले खेतबारीमा हाल्न थालेपछि रसायनिक मलको प्रयोग शून्यमा झरेको छ ।”
गड्यौँला मार्फत बनाइएको प्राङ्गारिक मलले माटोको उर्वराशक्ति बढाउने र कम खर्चिलो भएकाले यसको प्रयोगमा बढी जोड दिइनुपर्ने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । उहाँका अनुसार यसरी तयार गरिएको मलमा अतिआवश्यक १६ तत्वमध्ये १३ वटा तत्व पाइने गरेको छ ।
यसैगरी, कञ्चनपुरकै बेदकोट नगरपालिका नौ भुडाका तीन किसानले समेत व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान सहयोगमा गड्यौँला मल उत्पादन गर्न थालेका छन् ।