भोजपुर, ९ मङ्सिर । संयुक्त गाउँपालिका इलाका नं ८ र ९ लेखर्क र भोजपुरसहितको आन्दोलन जारी रहेको छ ।
संयुक्त गाउँपालिका सङ्घर्ष समितिले बुधबार गाउँपालिकासम्बन्धी आफ्ना मागलाई नयाँ स्थानीय विकास अधिकारीमार्फत आयोगमा सिफारिस गर्न अनुरोध गरेका छन् । गोगनेस्थित विद्घेश्वर माविको ७६औँ वार्षिकोत्सव उद्घाटन गर्न पुग्नुभएका जिल्लास्थित प्रमुख र स्थानीय विकास अधिकारीमार्फत उनीहरुले यस्तो माग गरेका हुन् ।
प्रस्तावित गाउँपालिकाको केन्द्र कुनैपनि हालतमा स्वीकार नहुने भन्दै समितिले जिल्लास्थित राजनीतिक दलले आफ्ना मागप्रति बेवास्ता गरेकोप्रति कडा आपत्ति जनाएकोे छ । आगामी दिनमा पनि अझै बेवास्ता गरे कडाभन्दा कडा विरोधका कार्यक्रम लिएर सदरमुकाममा उत्रनेसमेत चेतावनी दिएका छन् ।
स्थानीय विकास अधिकारी सीता परियारले इलाका नं ९, लेखर्कसहितको मागलाई सम्बोधन गराउनका लागि सकेसम्म अझै पहल गर्ने बताउनुभयो । यसैबीच, सो सङ्घर्ष समितिले छुट्टै गाउँपालिकाको माग गर्दै थुप्रै आन्दोलनका कार्यक्रम अघि सारेको छ ।