कञ्चनपुर, ९ मङ्सिर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीरण गर्ने कार्य सुरु गरिएको छ ।
नगर विकास कोषको रु सात करोड ३४ लाख ऋण सहुलियतमा सो बसपार्क आधुनिकीकरण गर्न लागिएको हो । सो बसपार्कलाई आधुनिकीकरण गर्नका लागि कोषले २० वर्षका लागि ऋण सहुलियत उपलब्ध गराएको भीमदत्तनगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनुभयो ।
बसपार्क आधुनिकीकरण गर्नका लागि गुरुयोजना सहित लागत अनुमान र वातावरणीय अध्ययनको कार्य पूरा भई निर्माण कार्यलाई अगाडि बढाइएको हो, उहाँले भन्नुभयो – “नगर विकास कोषको ९० प्रतिशत ऋण सहुलियतमा २० वर्षसम्ममा तिर्ने गरी बसपार्क निर्माण कार्य भइरहेको छ ।”
“कोषले उपलब्ध गराउने ऋण सहुलियतमध्ये सुरुमा नगरपालिकाले १० प्रतिशत र पछि क्रमशः ऋण रकम २० वर्षभित्र चुक्ता गर्ने गरी सम्झौता भएको छ” – नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले भन्नुभयो ।
बसपार्क निर्माण गुरुयोजनाअन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीनतले कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आरामगृह निर्माण हुने छ । बसपार्कमा एकैपटक ४०० बस पार्किङ गर्न सकिने गरी निर्माण गरिने उहाँले बताउनुभयो ।
बसपार्कमा निर्माण गरिने भौतिक संरचना सबै पक्की ढलानका आधारमा बनाइने छ । यसअघि नगरविकास कोषको लगानीमा निर्माण भएका वीरगन्ज, चितवन, बुटवललगायत क्षेत्रका बसपार्कको अवलोकन भ्रमणपछि बसपार्कको डिजाइन स्टिमेट तयार पारिएको नगरपालिकाले जनाएको छ ।
बसपार्क आधुनिकीकरणको कार्य १५ महिनाभित्र पूरा गर्ने गरी कुमार श्रेष्ठ आशिष जेभीले ठेक्का लिएको छ । दुई बिघा चार कट्ठा क्षेत्रफलमा उक्त बसपार्क फैलिएको छ ।