काठमाडौँ, ९ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटन क्षेत्रको विकास बिना नेपालको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
उपराष्ट्रपति कार्यालयमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले आज आयोजना गरेको व्यवसायी अभिनन्दन र नाटोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र जटीबुटीको विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पर्यटकीय दृष्टीले पनि महत्वपूर्ण क्षेत्र मानिएको नेपालको भौगोलिक वनावट, वेशभूषा, परम्परा, रहनसहन, धर्म र विविधतायुक्त जीवजन्तुको भरपूर उपयोग गर्न सके आर्थिक विकासमा टेवा पुग्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।
गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो धक्का लागेपनि यहाँका सञ्चारमाध्यमले नेपाल सुरक्षित गन्तव्य हो भनी विश्व सामु पु¥याएको सन्देशको पनि उहाँले सराहना गर्नुभयो ।

नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य थापाले नेपालको पर्यटन व्यवसायको विकास आफैँले गर्नुपर्छ भन्नुभयो ।
पर्यटन विभागका महानिर्देशक जयनारायण आर्चायले पर्यटन दिगो विकासको एकमात्र आधार भएपनि अपेक्षित विकास गर्न नसकिएको बताउनुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्चका नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले पर्यटकको सम्भावना भएका नयाँ गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गत वर्ष नेपालको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक राजु सिलवाल र द राइजिङ नेपालका नायब कार्यकारी सम्पादक नारायण उपाध्यायलाई रु १० हजार पुरस्कार प्रदान गरिएको थियो
भूकम्पपछिको पुनःनिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पर्यटन व्यवसायी मोहन लम्साल, बोधराज भण्डारी, निरध्वज लामा, सङ्घर्ष विष्ट, दागिली शेर्पा, ऋषिप्रसाद नेपाल, ठाकुरप्रसाद ढुङ्गाना, सागर विष्ट, धीरज बज्राचार्य, कमल शर्मा र रघु चौधरी र बुहलेर बर्नहार्डलाई सम्मान गरिएको थियो ।







