२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

टोखाको स्थलगत सांस्कृतिक अध्ययन


१० मंसिर २०७३, शुक्रबार  

0
Shares

 

काठमाडौँ, १० मङ्सिर । टोखा क्षेत्रका प्राचीन महत्वका विषयवस्तुलाई संरक्षण गर्ने उद्देश्यले स्थलगत सांस्कृतिक अध्ययन गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहयोगमा संस्कृतिविद् तथा स्थानीयवासीको सहयोगमा बिहीबार भएको अध्ययनमा टोखा क्षेत्र चाकु उत्पादनमा महत्व राख्ने भएको हुँदा त्यस क्षेत्र आसपासमा उखुखेती गर्न सुझाइएको छ ।

अध्ययनमा सहभागी सरोकारवालाले स्थानीय किसानलाई उखु रोप्न सरकारले जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । सहभागी संस्कृतिविद् डा प्रेमकुमार खत्रीले चाकुको संस्कृति लोप हुनसक्ने भएकाले किसानलाई आकर्षित गर्न विभिन्न विकल्प खोज्नुपर्ने बताउनुभयो ।

उक्त स्थानमा प्रत्येक वर्ष वैशाख १ देखि ५ गतेसम्म बिस्केट जात्रा लाग्ने गर्दछ । चण्डेश्वरीदेवीको कतिपय जात्रा पर्व आर्थिकस्रोत जुटाउन नसक्दा लोपोन्मुख बन्दै गएको टोखा सम्पदा संरक्षण समाजका अध्यक्ष मनिराज डङ्गोलले जानकारी दिनुभयो । विशेषगरी मङ्सिर, पुस र माघमा बनाइने चाकुको कारोबारबाट अहिले करिब रु एक करोडको व्यापार हुने गरेको छ ।

प्राचीन समयदेखि नै सो क्षेत्र गुणस्तरीय चाकु उत्पादनमा ख्यातिप्राप्त छ । त्यहाँको चाकु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुगेको बताइएको छ ।

त्यसैगरी, प्राचीन शैलीका स्थानीय गाउँ, बस्ती तथा जात्रा पर्वको पनि अध्ययन गरिएको छ । स्थानीय गणेश मन्दिर, कुमारी, सपनतीर्थ पोखरीलगायत स्थानको अध्ययन गरिएको छ ।

त्यहाँको ‘जाफा भजन’को पनि अध्ययन गरिएको छ । त्यसमा संस्कृत, नेपाली, नेपाल भाषा, मैथिली लगायतका भाषामा भजन गर्ने गरिन्छ । सो भजन दक्ष जनशक्ति तथा विभिन्न भाषाका गायकको अभावमा लोप हुन लागेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७३, शुक्रबार  ६ : ५९ बजे