१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, गलत हल्ला फिँजाइयो – प्रम


१० मंसिर २०७३, शुक्रबार  

0
Shares

काठमाडाँै, १० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको प्रमुख पदमा अङ्गीकृत नागरिक निर्वाचित हुन नपाउने बताउनुभएको छ ।

कास्की जिल्लाको विकासनिर्माणका विषयमा प्रधानमन्त्रीलाई आज ध्यानाकर्षण गराउन आएको नेकपा(माओवादी केन्द्र)का प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले संविधान संशोधन भएपछि पनि अङ्गीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका कुनै पनि पदमा निर्वाचित हुन नपाउने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “संविधान संशोधनका विषयमा बजारमा अनेकौँ हल्ला चल्ने गरेका छन्, ती सत्य होइनन् । सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ तर संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको नागरिक मात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ, अङ्गीकृतले पाउँदैनन्, तथ्य नबुझेर केही मान्छे गलत प्रचार गराउन लागिपरेका छन् ।”

प्रधानमन्त्रीले नागरिकताका विषयमा अन्तरिम संविधानमा व्यवस्था भएको ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अङ्गीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको जानकारी दिनुभयो ।

सीमाङ्कनका सम्बन्धमा विगतमा काँग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोज्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भाषाका बारेमा पनि आयोगलाई अधिकार दिइने र राष्ट्रियसभाको प्रतिनिधित्वबारे भूगोल र जनसङ्ख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिने बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले पूरक बजेटको तयारी गरिरहेको र त्यसमा गरिबका लागि सरकार, जनता निवृत्तिभरण कार्यक्रम र बेरोजगार युवालाई रोजगारी दिन नसके बेरोजगार भत्ता दिने व्यवस्था गरिने बताउनुभयो । उहाँले पूरक बजेटमा कास्कीका विकासनिर्माणका योजना समावेश गरिने बताउनुभयो ।
भेटमा माओवादी केन्द्रका नेताले, पोखरा उपत्यका ताल संरक्षण प्राधिकरण गठन, पोखरा चक्रपथ, अन्तर्राष्ट्रिय चिडियाखाना, प्रदेशस्तरीय बसपार्क, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, ढिकुरपोखरी पोलिटेक्निकल कलेज निर्माण लगायत सडक, पुल, शिक्षा, सिँचाइ, खानेपानी, भवन र पर्यटनसँग सम्बन्धित विकास योजनालाई उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा कास्कीका नेताले आफ्नो जन्मस्थान भएका कारण आगामी निर्वाचन कास्कीबाट चुनाव लड्ने गरी सोच्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको कास्की माओवादीका नेता एवम् पूर्वसभासद् राजकाजी गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० मंसिर २०७३, शुक्रबार  १२ : २३ बजे