२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

उत्पीडित समुदायले अधिकार पाउने गरी विधेयक दर्ता’


१० मंसिर २०७३, शुक्रबार  

0
Shares

 

काठमाडौँ, १० मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले विपन्न वर्गका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको स्थिति नाजुक रहेकाले त्यसलाई सुदृढ गर्न आफूले सहयोग गर्ने बताउनुभएको छ ।

उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले उत्पीडित, उपेक्षित समुदायका जनताले बढी अधिकार पाउने गरी आफूले राष्ट्रिय दलित – मधेसी – समावेशी – थारु – मुस्लिम र आदिवासी जनजाति आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ व्यवस्थापिका¬–संसद्मा पेस गरेको बताउँदै विधेयकमा थपघट गर्नुपर्ने भएमा सुुझाव दिन आग्रह गर्नुभयो ।

सो अवसरमा सामुदायिक तथा निजी विद्यालयबाट यस वर्षको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने दलित समुदायका छात्रछात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सरकारी विद्यालयतर्फ नेपाल प्रथम हुने देवानन्दन देवरजी उमावि रामनगरी पर्साका मुक्ति राम (३.८ जिपिए), सरस्वती उमावि आहाले गोरखाकी दीक्षा सुनार (३.९ जिपिए) तथा निजी विद्यालयतर्फ नेपाल प्रथम हुने नालाण्डा बोर्डिङ स्कुल ललितपुरका सोलोमन विश्वकर्मा (३.८ जिपिए) र मिनील्यान्ड इङ्लिस हाइस्कुल डाँछी काठमाडौँकी कविता मालमुल (३.९ जिपिए) छन् ।

त्यस्तै सरकारी र निजी विद्यालयतर्फ पूर्वाञ्चल प्रथम हुने छात्रछात्रा क्रमशः श्यामकुमार दास (सिरहा), रीमा विसङ्खी (धनकुटा), कर्तव्य राजकिरण नेपाली (उदयपुर) र अन्जना खाती (सप्तरी), मध्यमाञ्चल प्रथम हुने सुरज विक (नुवाकोट), सञ्जु परियार (काभ्रेपलाञ्चोक), सुकराम सुनार (सिन्धुपाल्चोक) र सुप्रिया वागचन्द (डोटी), पश्चिमाञ्चल प्रथम हुने कृष्ण नेपाली (लमजुङ), कृपा सार्की (कास्की), अर्जुन सुनार (अर्घाखाँची) र दिव्या विक (पर्वत), मध्यपश्चिम प्रथम हुने दीपक सार्की (डोल्पा), सुष्मा नेपाली (दाङ) र प्रदीप विश्वकर्मा (दाङ) तथा सुदूरपश्चिमाञ्चल प्रथम हुने सञ्जीव टमटा (अछाम) र सुमन विक (कैलाली) लाई सम्मान गरियो ।

प्रकाशित मिति : १० मंसिर २०७३, शुक्रबार  १२ : २४ बजे