३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

तीन तहबारे कानुन तर्जुमाका लागि स्वीकृति


१२ मंसिर २०७३, आइतबार  

0
Shares

काठमाडौँ, १२ मङ्सिर । सरकारले सहसचिव कृष्णप्रसाद देवकोटालाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त रु पाँच अर्ब ८८ करोड र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त रु १३ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ । साथै जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त रु १७ अर्ब ऋण सहायता स्वीकृत गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै अनशनरत प्रा डा गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

सरकारले सट्टाभर्ना दिने गरी पर्सा र शुक्लागण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्तासम्बन्धी गठन आदेशलाई स्वीकृत गरेको छ ।

आजको बैठकमा संविधान संशोधनको प्रस्ताव पारित गर्ने भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण त्यस बारेमा छलफल हुन नसकेको सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०७३, आइतबार  ११ : २४ बजे