१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

वनमन्त्रीद्वारा शाहीको परिवारलाई सहयोग



जाजरकोट, २७ पुस । गत पुस १७ गते ताप्लेजुङमा हत्या गरिएका वनरक्षक गणेश शाहीको घर जाजरकोट पुगेर वनमन्त्री शङ्कर भण्डारीले मङ्गलबार बेलुका सहयोग हस्तान्तरण गर्नुभएको छ ।

दशेरा–८ वडावन जाजरकोटमा रहेको स्व शाहीको घरमा पुगेर वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समवेदना प्रकट गर्दै राहत हस्तान्तरण गर्नुभएको हो । खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङमा कार्यरत वनरक्षक स्व गणेश शाहीको कार्य क्षेत्रमा खटिएका बेला हत्या भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट जाजरकोट आउनुभएका वनमन्त्री भण्डारीले पीडित परिवारको घरमै पुगेर रु एक लाख नगद पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो । स्व शाहीकी श्रीमती पवित्रा खत्री शाहीलाई कार्यालय सहयोगी पदमा मङ्गलबारदेखि नै लागू हुनेगरी उहाँले नियुक्तिसमेत दिनुभयो ।

स्व शाहीलाई सरकारले वन संरक्षण सहिद घोषणा गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । सरकारले मृतक शाहीको परिवारलाई रु १० लाख राहत दिने निर्णय गरिसकेको छ । सरकारले वनरक्षक गणेश शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गरेका देशभरिका वनरक्षकलाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिनुभयो ।

“वनरक्षक शाहीका परिवारलाई लालनपालनमा सहयोग गर्न वन विभागले मातहतका सबै कर्मचारीको एक दिनको तलब दिने निर्णय गरेका छौँ”, आचार्यले भन्नुभयो, “विभिन्न जिल्ला वन कार्यालयले शाहीको परिवारलाई सहयोग गर्न एक दिनको तलब सबै कर्मचारीले उठाइरहेका छन् ।
सङ्कलित रकम शाहीको परिवारलाई प्रदान गरिनेछ ।”

शाहीको ताप्लेजुङ ओराइखुस्थित जङ्गलमा सामुदायिक वनको लगत सर्वेक्षण गर्न गएका बेला गत पुस १७ गते हत्या भएको थियो । उहाँका दुई छोरा छन् । मृतक शाहीकी श्रीमती पवित्रा गर्भवती छिन् । रासस

प्रकाशित मिति : २७ पुस २०७३, बुधबार  ३ : २४ बजे