ओखलढुंगा, २८ पुस । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले ओखलढुंगा शाखाको भवन निर्माणका लागि ५० हजार रुपैंया नगद सहयोग गरेको छ । ओखलढुंगा शाखाले देश तथा विदेशमा सबै रहेका शाखाहरुलाई भवन निर्माणका लागि सहयोगको अपिल गरेको छ । अपिल लगत्तै पाँचथर शाखाले सोमबार ५० हजार सहयोग गरेको हो । सहयोगका लागि ओखलढुंगा शाखाले आभार व्यक्त गरेको छ । 
देशभरिका पत्रकारहरुको साझा संगठन भएको र पहाडी तथा दुर्गम जिल्लामा भवन बनाउन सहयोग होस् भन्ने उद्देश्यले आफूहरुले यसको शुरुवात गरेको पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगानाले बताए । जिल्लाबासी, उद्यमी, सर्वसाधारण, व्यवसायी र अन्य पत्रकार महासंघ शाखा सबैलाई ओखलढुंगा शाखाको भवन निर्माण गर्न सहयोगको अपिल गरिएको जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दालीले जानकारी दिए ।
साँढे चार तलाको डिजाइन भएको भवन शाखाले निर्माण शुरु गरेको छ । १ करोड ८२ लाख स्टिमेट गरिएको भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान र कदरपत्र समेत दिइने शाखाले जनाएको छ । शाखाको आफ्नै जग्गामा सिद्धिचरण नगरपालिका ४, गोरुमारेभन्ज्याङमा १ रोपनी ६ आना जग्गामा निर्माण शुरु गरिएको भवन एकवर्षभित्रै सम्पन्न गर्ने लक्ष्य शाखा अध्यक्ष रुम्दालीले बताए ।
२८ पुस २०७३, बिहिबार
0
Shares







