३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

संशोधन थाँती राखे समझदारी हुने ः ज्ञवाली


८ माघ २०७३, शनिबार  

7
Shares

बाबियाचौर (म्याग्दी), ८ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ ।

प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभयो ।

“सरकारले संशोधन विधेयकलाई यथास्थितिमा राखेर निर्वाचनसम्बन्धी विधेयक अघि बढाए राजनीतिक समझदारी कायम भई संविधान कार्यान्वयनको वातावरण बन्छ” सचिव ज्ञवालीले भन्नुभयो ।

संविधान कार्यान्वयनका लागि आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबैले जितेको अनुभूति हुने गरी समझदारी कायम गराउन पहल भइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

निर्वाचनका लागि राजनीतिक समझदारीको वातावरण बनाउन सरकारले अग्रसरता देखाउनुपर्ने सचिव ज्ञवालीको भनाइ छ । “संविधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेसवादी दल असहमतिका बाबजुद पनि निर्वाचनमा सहभागी हुन्छन्” सचिव ज्ञवालीले भन्नुभयो “सरकारले स्थानीय तह, प्रदेश र राष्ट्रियसभाको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ ।”

विसं २०७४ माघ पहिलो हप्ताभित्र तीनवटै तहको निर्वाचन हुन नसके देश गम्भीर सङ्कटमा पर्ने चिन्ता व्यक्त गर्दै निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भएको भन्दै उहाँले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने बताउनुभयो । अनुचित तवरले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने र हुन नदिने पनि सचिव ज्ञवालीले बताउनुभयो ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार  ५ : १९ बजे