३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

गाईघाटमा सुविधा सम्पन्न आँखा अस्पताल बन्ने

आँखा अस्पताल बनाउन राजनैतिक दलले प्रतिबद्धता जनाए



eye 1उदयपुर माघ १२ ।
आँखा अस्पतालको भवन बनाउन जिल्लास्थित राजनीतिक दलहरु एकमत भएका छन । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिघा जग्गामा आँखा अस्पताल बनाउन राजनैतिक दलले प्रतिबद्धता व्यक्त गरेका हुन ।
नेपाल नेत्र ज्योति संघ उदयपुरको सोमबार आयोजना भएको पुर्वाञ्चल क्षेत्रीय कार्याशाला गोष्ठीमा जिल्लाका राजनीतिक दलहरुले भाषणबाटै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पछिल्लो समय राजनीतिक दलले असन्तुष्टि जनाएपछि भवन अनिश्चित बनेको थियो । काग्रेस जिल्ला सभापति बिदुर बस्नेत, एमाले उपाध्यक्ष बिमल कार्की, नेकपा माओबादी केन्द्रका इन्र्चाज मोहनबहादुर खत्री, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष मोहरबक्स अली, प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, स्थानीय बिकास अधिकारी गणेशप्रसाद दाहालले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नगर परिषद्ले २०६५ पुस २५ गते आफ्नो भोकाधिकारमा रहेको साविक भुमरसुवा ४ छ हाल त्रिनपा १ बोक्सेस्थित कित्तानं ६८३ को जग्गा मध्ये पश्चिम क्षेत्रबाट नेपाल नेत्र ज्योति संघ उदयपुरलाई आँखा अस्पताल बनाउन १ बिघा जग्गा उपलब्ध गराउने निर्णयसहितको पत्र २०६६ जेठ ५ गते नेत्र ज्योति संघलाई उपठाएको थियो ।
तत्कालिन कार्यकारी अधिकृत खगेन्द्र दाहालले हस्ताक्षर गरेको पत्रमा आँखा अस्पताल निर्माण गर्ने प्रयोजनका लागि सर्भेक्षण, डिजाइन तथा निर्माण गर्ने र अस्पताल सञ्चालन गनेक्रममा कुनैपनि हस्ताक्षेप नगर्ने बताइएको छ ।
यधपि नगर क्षेत्रमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उक्त निर्णय खारेजी हुनु पर्ने भन्दै भवन निर्माणमा अवरोध पुर्याएका थिए । नगर प्रतिनिधित्व गर्ने नेताको उक्त अडानलाई सोही पार्टीका जिल्ला प्रमुखहरुले बनाउन दिने प्रस्ताव सोमबार एकाएक अघि सारेका हुन् ।
राजनीतिक अवरोधकाकारण संसदीय विकास कोष क्षेत्रनं २ बाट विनियोजन भएको ४० लाख रकम रोकिएको थियो । राजनीतिक दलको प्रतिवद्धतासँगै भवन बन्नेमा आफुहरु ढुक्क रहेको संघका जिल्ला अध्यक्ष भागवत राउतले बताए ।
क्षेत्रीयक गोष्ठीमा ‘भिजन सन २०२०’ सफल बनाउने निर्णय गरिएको छ । भिजन २०२० ले अन्धोपनलाई निर्मुल पार्ने योजना अघि सारेको संघका उपाध्यक्ष सृजना दनुवारले बताईन । अभियानअनुरुप बिराटनगर र लुम्बिनिमा आँखा चिकित्सकको स्नातक तहको पढाई सुरु गरेर चिकित्सक उत्पादन गर्ने काम भई रहेको संघका केन्द्रिय अध्यक्ष प्रध्यापक डा. तिर्थप्रसाद मिश्रले बताए ।
भिजन २०२० को लक्ष्यलाई पुरा गर्न उदयपुरमा पनि आँखा उपचार केन्द्रबाट आँखा अस्पताल बनाउने नेत्र ज्योति संघ उदयपुरको पहललाई केन्द्रले सकेको सहयोग गर्ने अध्यक्ष मिश्रले प्रतिवद्धता जनाए ।
उनले देशभरमै यस बर्ष उदयपुरमा एक आँखा अस्पताल थपिनेमा आफु ढुक्क रहेको बताए । ‘यहाँको नेत्र ज्योति संघले ल्याएको ‘आई फर आई’ नाराले उदयपुरमा अब दृष्ट्रिबिहिन रहनु नपर्ने कुराको संकेत गरेको छ,’ अध्यक्ष मिश्रले भने, ‘अब नेपालमा आखाँकैकारणबाट कोही व्यक्ति दृष्टिविहीन हुने छैनन् ।’
त्यसैगरी गोष्ठीले पुर्वाञ्चलका सबै जिल्लाका कम्तिमा पनि प्राथामिक तहको उपचार केन्द्र स्थापना गरिसक्ने, केन्द्र स्थापना भएकाको स्तर बृद्धी गर्ने, सुबिधा सम्पन्न आँखा अस्पताल सञ्चालन गर्ने लगाएतको निर्णय गरिएको संघका उदयपुर अध्यक्ष भागवत राउतले जानकारी दिए ।
कार्यक्रममा संघका महासचिव श्यामकुमार पोखरेलले नेत्र ज्योति संघ स्थापना यता नेपालमा हालसम्म ३५ लाखको आँखा उपचार गरिएको जानकारी दिए । नेपालमा ०.८४ प्रतिशत दृष्ट्रिबिहिन रहेकोमा हाल आएर ०.३५ प्रतिशतमा झार्न सफल भएको उनले जानकारी दिए ।
नेपाल नेत्र ज्योति संघले दृष्ट्रिबिहिनहरुको उपचार मात्र नभइ के कारणले दृष्ट्रिबिहिन हुन्छ भनेर अनुसंन्धान पनि गरि रहेको उनको भनाई रहेको थियो । जसमा भिटामिन ए को कार्यक्रम पनि नेत्र ज्योति संघको अनुसंन्धानपछि नेपाल सरकारले आफनो कार्यक्रम बनाएर लागु गरि सकेको जानकारी दिईयो ।
त्यसैगरी कार्यक्रममा सांसद मन्जुकुमारी चौधरीले उदयपुरमा पैसाको अभावमा वा उपचारको अभावमा कोही पनि दृष्ट्रिबिहिन बस्न नपरोस भन्ने हेतुले आफुले सांसदीय विकास कोषबाट ४० लाख बिनियोजन गरेको बताईन ।
उनले वजेट अभाव भए पुनः अर्को आर्थिक बर्षमा थप गर्ने प्रतिवद्धता जनाउँदै कामलाई अगाडी बढाउन आग्रह गरिन । त्यसैगरी सांसद पदमनारायण चौधरीले पूर्वमा रहेको बिराटनगर र लहानका आँखा अस्पताल र १६ आँखा उपचार केन्द्रले सन १०१६ सम्ममा ७ लाखलाई ओपिटीमा सेवा दिएको, १ लाख २५ हजारको शल्यक्रिया गरि ज्योति फर्काएको जानकारी दिए ।
अस्पताल निर्माण गर्नुभन्दा गुणस्तरीय सेवा घर दैलोमा पु¥याउने योजना बनाउनु पर्ने जोड दिए । नेत्र ज्योति संघको योजना पहाडमा छरिएर रहेको जनतालाई आँखा उपचारसम्म कसरी पु¥याउन सकिन्छ भन्ने योजना प्रमुख रहेको जानकारी दिए ।
कार्यशाला गोष्ठीमा पूर्वाञ्चलका ११ जिल्लाका नेत्र ज्योति संघका सभापति, सचिव र आँखा अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सकहरुको सहभागिता रहेको थियो । सोअवसरमा आँखा उपचार केन्द्र गाईघाटका नेत्र चिकित्सक डुल्लीराज तिम्सिनालाई समान गरिएको छ ।
आँखा उपचार केन्द्रमा रहेर उत्कृष्ठ सेवा प्रदान गरेवापत नेत्र चिकित्सक तिम्सिनालाई संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डा. तीर्थप्रसाद मिश्र र सांसद मन्जुकुमारी चौधरीले दोसल्ला, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७३, बुधबार  १२ : ११ बजे