२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

निर्वाचनका लागि दलहरुबीच मतभिन्नता छैन ः सभामुख घर्ती


१५ माघ २०७३, शनिबार  

0
Shares

विराटनगर, १५ माघ । सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताउनुभएको छ ।

नेपाल मगर विद्यार्थी सङ्घ मोरङको लेटाङमा आयोजना हुने नवौँ राष्ट्रिय महाधिवेशनमा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सभामुख घर्तीले पत्रकारहरुसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका सन्दर्भमा हुने निर्वाचनको विषयमा दलहरुबीच कुनै मतभिन्नता नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषयबाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मत भिन्नता रहेको आफूले पाएको छैन ।”

सबै राजनीतिक दलको सर्वसम्मतिमा निर्वाचनसम्बन्धी विधेयक फटाफट पास हुनुले पनि यो कुरालाई पुष्टि गर्दछ भन्दै सभामुख घर्तीले राष्ट्र र जनताको हितका लागि आआफ्नो अडानमा लचिलो हुने काम सबै राजनीतिक दलबाट हुनुपर्दछ भन्नुभयो ।
विमानस्थलमा सभामुख घर्तीलाई अन्तर पार्टी महिला सञ्जालका तर्फबाट स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदमा महिला आरक्षणको व्यवस्थाको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७३, शनिबार  ७ : ०२ बजे