३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

स्थानीय निकायकै निर्वाचन पहिले ः महामन्त्री कोइराला


१९ माघ २०७३, बुधबार  

0
Shares

काठमाडौँ, १९ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तह नभई निकायकै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रको शुभारम्भ एवम् लिटिल योङ प्रिन्सेस अफ द युनिभर्स २०१७ विजेता रक्षा थापालाई सम्मान गर्न आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तहको निर्वाचनमा जान नभ्याइने बताउनुभयो ।

“पहिलो प्राथमिकताका साथ स्थानीय निकायकै निर्वाचन गर्नुपर्छ भन्ने मेरो धारणा छ, यो विचार दलको होइन, दोस्रो प्राथमिकतामा सीमाङ्कन पारित गरिनुपर्छ, त्यसपछि प्रदेश निर्वाचन गरिनुपर्छ, स्थानीय निकाय निर्वाचनपछि वातावरण खुकुलो हुन्छ”–उहाँले भन्नुभयो ।

तराईका केही जिल्ला ५ नम्बर प्रदेशबाट झिकेर ४ नम्बरमा राख्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको विरोधमा ठूलो जनसमुदाय लागेकाले त्यसको सम्बोधन सुझबुझपूर्ण तरिकाले गरिनुपर्नेमा महामन्त्री कोइरालाले जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिपीले भन्नु भएअनुसार प्रत्येक नेपालीको सानो घर, बिरामी हुँदा औषधोपचारको व्यवस्था, बालबालिकालाई अध्ययन गराउन सक्ने हैसियतको बनाउनु नै लोककल्याणकारी राज्यको नमुना भएको उल्लेख गर्नुभयो ।

“बिपीको यो विचारबाट काँग्रेस अलग भयो भन्ने जनगुनासो छ, प्रजातान्त्रिक समाजवादलाई पनि बिपीले यसरी नै परिभाषित गर्नुभएकाले यसलाई पूरा गरिनुपर्छ, नेपालीको जीवनस्तर उकास्न यसको आवश्यकता छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा, योङ प्रिन्सेस उपाधि विजेता थापा र केन्द्रका अध्यक्ष बलदेव तामाङलगायतका वक्ताले सरल र सादगी जीवन बिताउनुभएका स्व भीमबहादुरको विचार ‘सबैको पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने’ को सान्दर्भिकता आजका दिनमा अझ बढेको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : १९ माघ २०७३, बुधबार  ११ : ५४ बजे