३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

तोकिएको समयमै तीनै तहको निर्वाचन हुन्छः मन्त्री पाण्डे


२२ माघ २०७३, शनिबार  

7
Shares

भच्चेक (गोर्खा), २२ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले तोकिएको समयमा नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार जुटेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र हंसपुर गाउँ पार्टीको तस्रो सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो — “संविधान कार्यान्वयनका लागि भएपनि तोकिएकै समयमा निर्वाचन गराउने दायित्वलाई सरकारले पुरा गर्नेछ ।”

मन्त्री पाण्डेले सरकारले आउँदो जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको बताउँदै निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका संसदले पारित गरिसकेको छ, अब छिट्टै निर्वाचनको घोषणा हुन्छ ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको बताउँदै उहाँले संविधान संशोधन विधेयक परिमार्जन गरेर भए पनि पास गर्न सकिनेछ भन्नुभयो ।

मन्त्री पाण्डे भूकम्पपीडितलाई राहत वितरण र पुनः निर्माणको कामलाई सरकारले तीब्रता दिन जुटेको उल्लेख गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडितलाई राहत वितरण गर्न र पुनः निर्माणको कार्यलाई तीब्रता दिन नसकेकोले सरकारले उनलाई त्यो पदबाट हटाएको स्पष्ट पार्नुभयो ।

देशभरका गाविस सचिवको जायज मागलाई सम्बोधन गर्न सरकारले पहल सुरु गरिसकेको बताउँदै उहाँले गाविस सचिवहरुले तत्काल आन्दोलन फिर्ता लिई काममा नफर्किए कारबाही गर्ने चेतावनी दिनुभयो ।

मन्त्री पाण्डेले सङ्घीयता कार्यान्वयनको विकल्प नभएको बताउँदै संविधानको अनुसूचीमा लेखिएअनुसार अहिले सिंहदरबारबाट हुँदै आएको काम स्थानीयतहबाट हुने बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०७३, शनिबार  ११ : ०७ बजे