२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने ः प्रधानमन्त्री ‘प्रचण्ड’


४ फाल्गुन २०७३, बुधबार  

0
Shares

पाँचथर, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।”

Sagarmatha

उहाँले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताउनुभयो । उहाँले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो ।

अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा राख्नुभयो ।

मन्त्री शर्माले नीति निर्माण गर्ने बेलामा आफू तार काट्दै हिँड्नु पर्ने बेला आएको भन्दै उहाँले झिनामसिना काम नगरी ठूला काम गर्न नसकिने बताउनुभयो ।

यस्तै उहाँले तमोर जलाशयलाई अघि बढाउन सके यस प्रदेशका जनताका जीवनस्तर उकासिने मात्रै नभएर मुलक नै समृद्ध बन्ने भएकाले यसका लागि सरकारले ऋण लिएर भए पनि तमोर जलाशयलाई अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङ, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, उद्योग वाणिज्य हकहित समृद्ध समिति सभापति भीष्मराज आङ्देम्बेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार  १२ : ५१ बजे