२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मधेसलाई अविश्वास नगरौँ–सभापति देउवा


१२ फाल्गुन २०७३, बिहिबार  

0
Shares

भद्रपुर, १२ फागुन । नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताउनुभएको छ ।

झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा आज यहाँ आयोजित “पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३” को आज उद्घाटन गर्दै उहाँले मधेसी जनताको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गरेर मधेसी जनताले राखेको माग पूरा गर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधनमा नेकपा (एमाले)को साथ र सहयोगको आवश्यकता औँल्याउँदै निकै कठिन परिस्थितिमा आएको संविधानलाई कार्यान्वयन गर्न निर्वाचन आवश्यक छ भन्नुभयो ।

आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वाचित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिनुभयो ।

उहाँले उद्योगी व्यापारीले गुणस्तर एवम् अर्गानिक उत्पादनमा विशेष ध्यान दिनुपर्ने भन्दै विकास र सेवा प्रवाहमा सङ्घीयताले निकै ठूलो योगदान दिने चर्चा गर्नुभयो ।

उद्योगी व्यापारीले बंैंकको चर्को व्याजको विषयमा आफू गम्भीर भएको र यसको लागि सहुलियत बैंकको व्याजका लागि आवश्यक सल्लाह गर्ने भन्दै सभापति देउवाले हिमालको उत्पादन तराईलाई र तराईको उत्पादन हिमाललाई भयो भने यसले तराई मधेस र हिमाललाई जोड्ने विचार व्यक्त गर्नुभयो ।

सामान्य प्रशासनमन्त्री केशवकुमार वुढाथोकीले उद्योगी र व्यापारीले उठाएको चर्को बैंकको व्याजप्रति सरकार गम्भीर छ भन्दै उद्योगको दृष्टिकोणले १ नं. प्रदेश निकै समृद्ध हुने सम्भावना रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको सन्तुलित विकास गर्न हुलाकी राजमार्ग बन्नुपर्ने धारणा राख्नुभयो ।

झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य केशव पाण्डे, उद्योगपति चण्डिराज ढकाल, किशोर प्रधान, दिनेश श्रेष्ठलगायतले महोत्सवको सफलताको बारेमा बोल्नुभएको थियो ।

महोत्सवमा ११० वटा व्यापारिक कक्ष रहेको र दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने बताइएको छ । महोत्सव फागुन २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७३, बिहिबार  १२ : ५३ बजे