अल्जाइमरबारे जनचेतनाको कमी

0 Shares

काठमाडौँ, १८ भदौ । वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहँुदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ ।

बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । बुढेसकालमा लाग्ने डिमेन्सिया समूहको अल्जाइमर रोग पाँच प्रतिशतमा देखिने चिकित्सक बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालका ज्येष्ठ नागरिक विशेषज्ञ डा रमेश कँडेल यो ज्येष्ठ नागरिकमा लाग्ने कडा किसिमको बिस्तारै बढ्ने मानसिक रोग भएको बताउनुहुन्छ । डिमेन्सियाले सोच्ने, विचार गर्ने, योजना बनाउनेजस्ता महत्वपूर्ण मानसिक क्षमता घटाउँदै लैजाने उहाँको भनाइ छ ।

खासगरी मधुमेह, मष्तिष्कमा क्यान्सरजन्य रोग, मष्तिस्क ज्वरो र थाइराइडका बिरामीलाई यो रोगको खतरा अझ बढी हुने डा कँडेलले बताउनुभयो ।

अल्जाइमर विस्मृति समाज नेपालका अध्यक्ष डा गौरीशङ्करलाल दास अन्य रोगका लागि सरकारले खर्च गरे पनि ज्येष्ठ नागरिकलाई लाग्ने यो रोगप्रति ध्यान पुग्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले अन्य रोगको उपचारका लागि विभिन्न व्यवस्था गरेको छ तर ज्येष्ठ नागरिकमा देखिने यो रोगलाई अझै पनि नजरअन्दाज गरेको छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष मदनदास श्रेष्ठ यो रोगबाट पीडित बिरामी रोग लागेपछि धेरै समयसम्म बाँच्न सक्ने भए पनि त्यसका लागि परिवारको सहयोग चाहिने बताउनुहुन्छ ।

अल्जाइमरको चरम अवस्थामा कसैलाई पनि नचिन्ने, आफ्नो वरिपरि भइरहेको कुरा र आफ्नाबारे समेत बिरामीलाई थाहा हँुदैन । हेल्पएज इन्टरनेसनल नेपालका खिमराज उपाध्यायले नेपालमा हालसम्म यस्ता बिरामी र तिनका परिवारका लागि कुनै सेवा सुविधा नभएका कारण पनि बिरामीले अपहेलना सहनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनचेतना अभाव र स्वास्थ्य सेवाको अपहुँचका कारण डिमेन्सिया रोगबारे अधिकांश नेपाली अनभिज्ञ भएकाले यसबारे सबैलाई जानकारी गराउन आवश्यक छ । परिवारले यस रोगका बारेमा बुझेमा मात्र आफ्ना बिरामी आमाबालाई हेर्न सक्छन् । अन्यथा यसले परिवारलाई पनि थप तनाबमा पारेको छ ।”

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्करप्रसाद पाठकले अल्जाइमर रोगका बारेमा जनचेतना जगाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा के के गर्न सकिन्छ भन्ने विषयमा यस क्षेत्रमा काम गर्नेले ठोस कार्यकमको कार्ययोजना बनाई ल्याएमा मन्त्रालय सहयोग गर्न सकारात्मक छ ।”

हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व अल्जाइमर दिवस मनाइन्छ । यसको थालनी सन् १९९४ मा स्कटल्यान्डको एडिनबरा सहरमा भएको थियो । अल्जाइमर्स डिजिज इन्टरनेसनलको आह्वानमा मनाइने यो दिवसमा विश्वभरिका जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

यस वर्ष पनि ‘मलाई नबिर्स’ भन्ने नाराका साथ यो सेप्टेम्बर महिनाभर अल्जाइमर दिवस मनाउन लागिएको छ । डिमेन्सिया बुढेसकालको लक्षण नभएर स्मृतिसम्बन्धी रोग हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० मा विश्वभर तीन करोड ५६ लाख मनिस डिमेन्सिया रोगले ग्रस्त रहेको बताएको छ ।

सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ७७ लाख डिमेन्सियाका नयाँ बिरामी देखिने गरेका छन् । यो आँकडानुसार प्रत्येक चार सेकेन्डमा संसारमा एक व्यक्तिमा डिमेन्सिया रोग लाग्ने गर्छ ।

नेपालमा सन् २०१३ सम्ममा ७८ हजार वृद्धवृद्धामा यो रोग लागेको एक तथ्याङ्कले देखाएको छ । यो रोग लागेका मानिसमा स्मरणशक्ति कमजोर हुने, शरीर गल्दै जाने, उदासीनताको सिकार हुने जस्ता लक्षण देखिन्छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार