५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

किन अान्दाेलनमा उत्रिए अाेखलढुङ्गाका भूकम्प पीडित ?



ओखलढुंगा, २४ चैत । ओखलढुंगाका भूकम्प पीडितहरु सरकारको लापरवाहीले लाभग्राहीमा नाम नपरेपछि अनुदान नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । महाभूकम्प पीडित घरछुट संघर्ष समिति नै बनाएर उनीहरुले आन्दोलन थालेका हुन् ।
पत्रकार सम्मेलन गरेर उनीहरुले आफ्ना माग सार्वजनिक गरेका छन् । पोकली गाविसबाट शुरु भएको आन्दोलन जिल्लाभर विस्तार हुने संघर्ष समितिका संयोजक केशवहरि ढुंगेलले बताए । समितिले भूकम्पले पूर्ण क्षति भइ सरकारबाट मौसमी राहत पाएका पीडितहरु विद्युतीय सर्भेक्षणमा प्राविधिकहरुको लापहरवाहीले लाभग्राहीको सूचीमा नाम समावेश नभए पछि आक्रोशित भएका थिए ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले गुनासो फारम भरेका पीडितहरुको मागबारे छानविन गरे पनि अधिकांश पीडितहरुको साविकको स्थानमा बस्न योग्य घर भएको भन्ने कारण लेखी लाभग्राहीमा नाम समावेश भएको थिएन । पोकलीका ८ सय घरधूरी पूर्ण क्षति भए पनि ४ सय ६५ घरधुरी मात्र लाभग्राहीको सूचीमा समावेश भइ आुदान पाएको र अन्य पीडितहरु अस्थायी टहरामा बसोबास गर्दै आए पनि अनुदान नपाएको संयोजक ढुंगेलले जानकारी दिए ।
ओखलढुंगामा पहिलो चरणमा १८ हजार ६ सय भूकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । नाम छुट भएका ७ हजार ८ सय १० गुनासो फारम भरेको भए पनि ३ सय ६४ को मात्र नाम समावेश गर्ने प्राधिकरणले सुचना जिल्ला पठाएपछि पीडिहरु आन्दोलित भएका हुन् । गुनासामध्ये १ हजार ३५ गुनासा छानविन नै भएका छैनन् ।
पीडितहरुले घर पुनः सर्भेक्षण गरि अनुदान दिन व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा माग चैत २४ गते पत्र पेश गरेका छन् । माग पुरा नभए धर्ना, घेराउ लगायत सशक्त आन्दोलनको तयारी गरिएको संघर्ष समितिले जनायो ।

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहिबार  ८ : ०७ बजे