चितवन, २६ चैत । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज चितवनले आज यहाँ आयोजना गरेको ‘१९ आंै साधारण सभा तथा लोकतन्त्रको संस्थागत विकास र स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो – “सरकारले आवश्यक सम्पूर्ण तयारी सुरु गरिसकेकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ ।”
राज्यमन्त्री गुरुङले अब निर्वाचनलाई कसैले टारेर टार्न नसक्ने बताउँदै लोकतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य छ भन्नुभयो ।

निर्वाचनमा काँग्रेसको जित सुनिश्चित् गराउन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले अहिलेको प्रतिस्पर्धा पार्टीको आन्तरिक नभइ अन्य शक्तिसँग भएकाले यसमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्रको आन्तरिकद्वन्द्व अन्त्य गर्दै अघि बढ्नसकेमा मात्रै काँग्रेसको जित सुनिश्चित हुने धारणा राज्यमन्त्री गुरुङले व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल महिला सङ्घकी केन्द्रिय सभापति उमा रेग्मी, नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रजातान्त्रिक विचार समाजका केन्द्रिय सचिव डा ईश्वरी लौडारीलगायतले लोकतन्त्रलाई संस्थागत गर्नका लागि काँग्रेसको जित आवश्यक रहेको बताउँदै काँग्रेसले जारी गरेको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले नै स्थानीय तहदेखि केन्द्रिय तहसम्मको नेतृत्व लिन आवश्यक छ भन्नुभयो ।
समाजका चितवन अध्यक्ष डा कृष्ण पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका पूर्वकेन्द्रिय सचिव डा केशवभक्त सापकोटाले लोकतन्त्रको संस्थागत विकास र स्थानीय तहको निर्वाचन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।







