२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

जथाभाबी खोटो निकाल्दा उदयपुरमा सल्लाको जङ्गल विनाश


२७ चैत्र २०७३, आइतबार  

0
Shares

गाईघाट (उदयपुर), २७ चैत । उदयपुर जिल्लाको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जङ्गलबाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जङ्गल विनाश हुँदै जान थालेको छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, ताप्ली, लेखगाउँ, हर्देनी तथा मध्यपहाडी क्षेत्रको इनामे, तावाश्रीलगायत क्षेत्रका सल्लाघारी जङ्गलबाट अहिले मनपरी खोटो निकाल्ने कार्यले हजारौँ सल्लाका रूख मरिसकेको ताप्ली–४ का रुद्रबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार खोटो सङ्कलन गर्ने ठेकेदार र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा नियम विपरीत खोटो निकाल्ने गर्दा सल्लाका रूख मर्न थालेको हो । तावाश्रीका होमबहादुर तामाङका अनुसार सल्लाको गोलाइ कम्तीमा पनि ३० सेन्टिमिटरभन्दा बढी हुनुपर्ने र १० इन्चको गोलो घेरामा मात्र खोटो निकाल्न खोप्न पर्ने र खोटो निकालेपछि गोबर लगाएर लेपन गर्नुपर्नेमा ठेकेदारले कुनै मापदण्ड पालना नगरेकाले अहिले सल्लाका रूख मर्न थालेको हो ।

धमाधम वन मासिनलाग्दा पनि सम्बन्धित वनका कर्मचारी तथा वन उपभोक्ता समितिका पदाधिकारीले भने यसतर्फ कुनै ध्यान नदिएको इनामेका दावा नोर्बु शेर्पाको गुनासो छ ।

जिल्ला वन कार्यालयका अनुसार हाल उदयपुरमा झन्डै एक लाख ७० हजार हेक्टर क्षेत्रफल वन क्षेत्र छ भने यसमा सल्लाघारी वन मात्र झन्डै दुई हजार चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । गत आवमा मात्र यस क्षेत्रका सल्लाघारी जङ्गलबाट यसरी नै मनपरी खोटो निकाल्ने कार्य हुँदा एक लाख ६६ हजार दुई सय ५० केजी खोटो निकालिएको रुपाटारका दीपेश खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार  ८ : ३७ बजे