जलवायु परिवर्तन अनुकूलन

Facebook Debugger

जनार्दन मैनाली । अहिले विश्वमा जलवायु परिवर्तन एक मुख्य समस्याका रूपमा देखापरेको छ । यसका कारण र कारकहरूबारे धेरै छलफल भएका छन् । विकसित औद्योगिक देशहरूले उत्सर्जन गरेका हरित गृह ग्यासहरूका कारण विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको दर बढेको हो । तर, विश्व राजनीतिमा यस विषयलाई लिएर एकअर्कालाई दोषारोपण गर्ने कामहरू पनि भइरहेका छन् । तर, सर्वसम्मत तथ्य के हो भने विश्वमा जलवायु परिवर्तन भइरहेको कुरा वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । वैज्ञानिक रूपमा प्रमाणित भइसकेको जलवायु परिवर्तनको प्रक्रियालाई स्थानीय रूपमा बढ्दै गएको गर्मी, अतिवृष्टि तथा अनियमित वृष्टि, बिरूवाहरूको फूल फुल्ने समयमा आएको परिवर्तन आदिले खुलस्त देखाइरहेका छन् । तर, यो परिवर्तनको साँचो हाम्रो हातमा छैन । हामी यसको असरलाई न्यूनीकरण गरेर जीविका चलाउन मात्र सक्छौं, जलवायु परिवर्तनको प्रक्रियालाई परिवर्तन गर्न सक्दैनौं । जलवायु परिवर्तनले जनजीविकामा पार्ने असरलाई न्यूनीकरण गरेर जनजीविका नियमित गर्ने प्रक्रियालाई अनुकूलन (याडाप्टेशन) भनिन्छ । अनुकूलन प्रक्रियामा असरलाई कम पार्न पूर्वसूचना प्रणालीको व्यवस्था, नयाँ पूर्वाधारहरू निर्माण, जीवनशैली तथा पेशामा परिवर्तन आदि कुराहरू पर्छन् ।
जलवायु परिवर्तनले विश्वका गरीब, प्राकृतिक स्रोतमाथि आश्रित, कृषि पेशामा निर्भर देश र उक्त देशका जनताहरूलाई बढी असर गरिरहेको छ । यसले मानिसहरूको जीविकालाई कमजोर तुल्याउँछ । यसबाट उनीहरूका लागि अत्यावश्यक सामाजिक, मानवीय, प्राकृतिक, भौतिक तथा आर्थिक पूँजी कमी हुने अथवा गुम्न सक्ने जोखीम रहन्छ । जलवायु परिवर्तनले जनजीविकामा असर गर्दा विपन्न जनतासँग थोरैमात्र विकल्प बाँकी रहन्छन्, जसका कारण तत्काल आइपर्ने आपत् तथा विपत्हरूबाट जोगिन गाह्रो पर्छ । जलवायु परिवर्तनका असरहरूको वृद्धिसँगै विश्वव्यापी रूपमा यसबाट बच्न अनुकूलनका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । आफ्नो राष्ट्रिय क्षमताले भ्याउने मुलुकहरूले आफै र क्षमता नपुग्ने राष्ट्रहरूले विकास साझेदारहरूसँग मिलेर जलवायु परिवर्तन असर न्यूनीकरणका लागि अनुकूलन योजना निर्माण गरी लागू गरिरहेका छन् । संयुक्त राष्ट सङ्घले पनि ‘युनाइटेड नेशन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेञ्ज’ (यूएनएफसीसी)अन्तर्गत रहेर अनुकूलन कोष तयार गरेको छ । उक्त कोषले जलवायु परिवर्तन अनुकूलनका लागि विश्वभरका सरकारहरूलाई सहयोग गरिरहेको छ । अनुकूलनका कार्यक्रमहरूलाई अहिले जलवायु परिवर्तनको असर न्यूनीकरणको महतवपूर्ण अस्त्रका रूपमा लिइएको छ । विकास साझेदारहरूले अहिले समुदायको ज्ञान शीपमा आधारित रहेर समुदायहरूको अनुकूलन क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइरहेका छन् । नेपाल जलवायु परिवर्तनको दृष्टिकोणले विश्वभरिमा बङ्गलादेश, भारत र मादगास्कार पछाडि चौथो सबैभन्दा बढी सङ्कटासन्न मुलुकका रूपमा रहेको छ । लामो हिमाली तथा पहाडी भू–भाग, बाढी, पहिरो तथा डुबानको समस्या, सुक्खा क्षेत्रहरू, पूर्वाधारको कमी, कृषिमा आधारित जनजीवन तथा न्यून आर्थिक स्थिति आदि कारणले जलवायु परिवर्तनको असरबाट नेपाल जोखीममा परेको देखिन्छ ।
जलवायु परिवर्तनले समाजका सबै पक्षलाई एकैचोटि असर गर्छ । त्यसैले यसको अनुकूलनका लागि समाजका सबै पक्षहरूलाई ध्यान दिन जरुरी हुन्छ । विसं २०६७ सालमा नेपाल सरकारद्वारा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) ले ६ ओटा जलवायु परिवर्तनको असरका क्षेत्रहरू पहिचान गरेको छ । ती क्षेत्रहरू हुन्— कृषि तथा खाद्य सुरक्षा, जङ्गल तथा जैविक विविधता, जल तथा ऊर्जा, शहरी विकास तथा आवास, स्वास्थ्य र जलवायुजन्य प्रकोपहरू । यी प्रत्येक क्षेत्रमा जलवायु परिवर्तनले गरेका असर न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रमहरूको प्रस्ताव पनि नापामा गरिएको छ । त्यसबाहेक जलवायु परिवर्तनको अन्तरक्षेत्रीय प्रभावलाई पनि विश्लेषण गरेर अगाडि बढ्नु जरुरी छ किनभने समाजका सबै क्षेत्र एकअर्कासँग अन्योन्याश्रित हुन्छन् । त्यसैगरी नेपाल सरकारले अहिले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्थानीय स्तरमा स्थानीय अनुकूलन कार्ययोजना निर्माणको कार्यक्रम अगाडि बढाएको छ । स्थानीय अनुकूलन कार्ययोजना (लापा) नाम दिइएको उक्त कार्यक्रम मध्य तथा सुदूरपश्चिमका ६९ गाविस तथा एक नगरपालिकामा लागू भइरहेको छ । त्यसबाहेक अन्य गैरसरकारी संस्था तथा विकास साझेदारहरूले पनि देशका विभिन्न स्थानीय निकायमा जलवायु मैत्री योजना निर्माण प्रक्रियामा सहजीकरण गरिरहेका छन् । जलवायु परिवर्तनले दुई किसिमले असर गरिरहेको हुन्छ । पहिलो किसिमको असर भनेको जलवायु परिवर्तनको कारणले आउने भूक्षय, बाढी पहिरो, सुक्खा खडेरी आदि समाजमा परेका प्रत्यक्ष क्षति हुन् भने यसको असर न्यूनीकरण गरी जनतालाई जलवायु समानुकूलित पार्न लाग्ने आर्थिक सामाजिक तथा भौतिक दायित्व दोस्रो किसिमको क्षति हो । अहिले विश्वमा यी दुवै असरका क्षेत्रहरूमा धेरै खर्च भइरहेको छ । जलवायु परिवर्तनबाट सबभन्दा बढी सङ्कटासन्न देश बङ्गलादेशमा जलवायु परिवर्तनबाट सृजित साइक्लोन आँधीले मात्र शून्य दशमलव ३ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा असर गरिरहेको तथ्य प्रकाशमा आएको छ । त्यसै गरी उक्त देशमा अन्य जलवायुजन्य प्रकोपले पनि धेरै असर गरिरहेको छ । बङ्गलादेशको दुःखका रूपमा मानिएको बाढी र डुबानले त्यहाँ ठूलो आर्थिक क्षति गरिरहेको स्थिति छ । नेपालको सन्दर्भमा जलवायु परिवर्तनले निम्त्याएका आर्थिक क्षतिको सरकारी तथ्याङ्क उपलब्ध छैन । नेपाल सरकारले हाल जलवायु परिवर्तनले समाजका मुख्य क्षेत्रमा पार्ने असरका विषयमा राष्ट्रिय स्तरको अध्ययन गरिरहेको छ । सन् २०१३ को अन्त्यसम्म उक्त अध्ययनको नतीजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरू सरकार र दाताहरूबाट आएका तथा स्थानीय स्तरबाटै स्वतःस्फूर्त सञ्चालन भएका गरी प्रायः दुई किसिमका हुन्छन् । ठूला कार्यक्रमहरूमा बृहत् खानेपानी, सिँचाइ, नदीनियन्त्रण, भूक्षय रोकथाम, प्रकोप पूर्वसूचना प्रणालीको जडान आदि पर्छन् । जलवायु परिवर्तनले पानीका मुहानहरू सुक्न थालेपछि आकाशेपानी सङ्कलन, मुहान संरक्षण आदि स्थानीय स्तरबाट गरिएका प्रयासहरू पनि अनुकूलनकै पाटा हुन् । त्यसैगरी अहिले नेपालमा सामुदायिक वनहरूको संरक्षणद्वारा स्थानीय प्राकृतिक स्रोतहरूको संरक्षण भएको छ र यसले पनि जलवायु परिवर्तनबाट अनुकूलित हुन सहयोग पु¥याइरहेको छ । पशुपालन गर्दा ठूला गाईभैइसीको ठाउँमा कम पानी खपत गर्ने बाख्रा, भेडा, कुखुरा आदिको पालन, सुक्खा सहन सक्ने प्रजातिहरूको खेती, खोला नदीका छेउमा वृक्षरोपण, जैविक भूक्षय रोकथाम विधि आदि सानासाना कामले पनि अनुकूलनको प्रक्रियालाई स्थानीयस्तरमा सहयोग पुर्‍याइरहेको हुन्छ । विभिन्न अनुसन्धानले जलवायु परिवर्तनका असरहरू बाहिर ल्याइरहेका छन् । स्थानीय स्तरमा पनि जलवायु परिवर्तनको प्रक्रियालाई महसूस गरिएको छ । विशेष गरेर जलवायु परिवर्तनले कृषि, पर्यटन तथा पूर्वाधारहरूमा नराम्रो असर गरिरहेको छ । यसले थप असर गर्न सक्ने सम्भावना देखिन्छ । यी असरलाई न्यूनीकरण गर्न स्थानीय बासिन्दामा जलवायुजन्य प्रकोपका बारेमा जनचेतना जगाउनुपर्ने आवश्यकता सबैभन्दा महतवपूर्ण देखिन्छ । त्यसैगरी, भविष्यमा आउन सक्ने प्रकोपहरूको पूर्वसूचना प्रणालीको व्यवस्था भएमा यसबाट जोगिन स्थानीय बासिन्दालाई तयार गर्न सकिन्छ । त्यस्तै, बहुसङ्ख्यक जनताको जीविकासँग जोडिएका क्षेत्रहरूमा अनुकूलनका योजना तयार गरी लागू गर्नुपर्ने हुन्छ । यस प्रक्रियामा स्थानीय ज्ञान, शीप तथा साधनको उपयोग गरेर स्थानीय बासिन्दाकै सहभागितामा अनुकूलनका कार्यक्रमहरू सञ्चालन भएमा दिगो हुने तथ्य अनुभवले देखाएको छ । जलवायु परिवर्तनको प्रक्रियालाई फेरबदल गर्न सक्ने आर्थिक तथा राजनीतिक क्षमता नेपालजस्तो देश र यहाँका जनताहरूमा छैन । त्यसैले हामीले यसका असरहरूबाट बच्न आफ्नो अनुकूलन क्षमता बढाउनुको विकल्प छैन ।

लेखक रिसोर्सेस हिमालय फाउण्डेशन एवम् रिसर्च सोलुशन्स नेपालसँग सम्बन्धित छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार