५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

नेचासल्यान गाउँपालिकालाई समृद्ध बनाउने सबैभन्दा उत्तम विकल्प एमालेसँग छ : डुफकुमार वास्तोला अध्यक्षका उम्मेदवार



सोलुखुम्बु, १९ जेठ । नेकपा एमालेबाट नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डुफकुमार वास्तोलाले नेकपा एमालेसँग मात्र नेचासल्यान गाउँपालिकालाई समृद्ध बनाउने एक मात्र उत्तम विकल्प रहेको बताएका छन् । गाउँपालिकाको विभिन्न क्षेत्रमा आयोजना गरिएको स्थानीय तहको निर्वाचनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार वास्तोलाले यस्तो बताएका हुन् ।
सोलुखुम्बु जिल्लामै राजनीतिक नेताहरुको तहमा अग्रपंक्तीमा गनिने डुफकुमार वास्तोला कुशल र क्षमतावान राजनीतिज्ञ हुन् । नेचासल्यान गाउँपालिकामा उनको बेग्लै राजनैतिक छबि छ । नेकपा एमाले सोलुखुम्बुको उपाध्यक्ष समेत रहेका वास्तोला जिल्लाकै लोकप्रिय नेताका रुपमा दरिएका छन् ।

वास्तोलाको प्रतिवद्धतापत्र यस्तो छ ।
सडक तथा पूर्वाधार विकास
कृषि तथा ग्रामिण सडक निर्माण एवं स्तरोन्नती गरी आगामी ३ वर्षभित्रमा गाउँपालिका भित्रका प्रत्येक टोलटोमा सडक सञ्जाल पु¥याइनेछ ।
पत्ताले, गौरीटाप, कँडेनी, लेब्लुसिमखर्क, रुँगा, छितापातल, वतासे, जालपा, फुर्के बिहीबारे, सल्यान पुरानागाउँ, देउपुजे, सारे, साल्मे पेकनाश, सिकारी डाँडा चक्रपथ (पूर्व–पश्चिम–उत्तर–दक्षिण) पक्की सडक ५ वर्षभित्रमा निर्माण गरिनेछ ।
अपर सगरमाथा त्रिकोणीय सडक (सोलु, ओखलढुंगा, खोटाङ) निर्माण गर्दा चिसापानीबाट बिहीबारे हुँदै सल्यान, तिङला समेटेर लैजाने र यस आयोजनाका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्दै विशेष पहल गरिने छ ।
पर्यटन 
कडेनी झोडेनी जंगललाई टिम्बुरबोटे शहिद वाटिका, विभिन्न किसिमका वन्यजन्तु, चराचुरुङ्गी, लोपोन्मुख बोटविरुवाको संरक्षण, जंगलभित्र कम्तीमा दुई वटा मैदानी जग्गामा एक÷एक वटा विशाल पोखरीको निर्माण, मत्स्यपालन, संरक्षण र प्रबद्र्धन गरी ऐतिहासिक पर्यटन, जंगल सफारी र वन्यजन्तु तथा बोटविरुवा अध्ययन केन्द्रको रुपमा विकास गरिने छ ।
तिलपुङ, गौरीटाप, नेचा गैरी, लेब्लुसिमखर्क, नेचाफुर्के र नेचागैरीमा होटल तथा होमस्टे स्थापना र सञ्चालन गरिनेछ ।
लोपोन्मुख वनस्पति वेतलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गराई विशेष संरक्षणको व्यवस्था गरिनेछ ।
कृषि, पशुपालन 
कृषिलाई जीविकोपार्जनबाट स्तरोन्नति गरेर व्यवसायिक खेती प्रणालीको विकास गरिनेछ ।
खाद्यान्न, नगदेबाली, फलफूल, तरकारी र पशु विकासको सम्भावना अध्ययन गरी सामूहिक खेतीपाती तथा पशुपालन व्यवसाय सञ्चालन गर्न किसान समूहहरुको विस्तारीकरण र विविधीकरण गरिने छ ।
गाउँपालिका अन्तर्गतका बेशीहरुमा अर्गानिक धान, तरकारी, गहुँ, दलहन आदिको व्यवसायीक खेती गरिनेछ ।
तिङ्ला, सल्यान र नेचालाई कृषि पर्यटनसँग जोडिने छ ।
सल्यानको केउरेनी क्षेत्रमा आँप उत्पादन केन्द्र स्थापना र सञ्चालन गरिनेछ ।
भैँसी, गाई, बाख्रा, माछाको उन्नत बीउ वीजन केन्द्र निजी, सरकारी सहकार्य अवधारणामा सञ्चालन गर्न पहल गरिनेछ ।
कृषि, पशुपालन र प्राकृतिक स्रोतको संबद्र्धन र दीगो प्रयोग गर्न एक मान्यता प्राप्त विश्वविद्यालयबाट अनुमती लिई कृषि क्याम्पसको स्थापना र सञ्चालन गरिनेछ ।
एक गाउँ एक उत्पादनको नारा लिई प्रभावकारी कार्यन्वयन गरिनेछ ।
शिक्षा
गाउँपालिकाभित्र सञ्चालनरत कम्तिमा ४ वटा विद्यालय छनौट गरी मातृभाषा शिक्षा सञ्चालन गरिनेछ ।
नेचाबेतघारी, बतासे, सल्यान र तिङ्लामा सञ्चालनरत एक÷एक साधारण माध्यमिक विद्यालयलाई प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयमा रुपान्तरण गरिने छ ।
कृषि, इञ्जिनीयरीङ, स्वास्थ्यसँग सम्बन्धित वहुसङ्काय युक्त एक वटा आवासीय क्याम्पसको संभाव्यता अध्ययन गरी आगामी ५ वर्षभित्रमा सञ्चालनमा ल्याउन पहल गरिनेछ ।
कक्षा १ देखि १२ सम्मको माध्यमिक शिक्षालाई निशुल्क शिक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याइनेछ ।
स्थानीय भाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्यको थालनी गरिनेछ ।
आधारभूतदेखि कक्षा १२ सम्म अनिवार्य कम्प्युटर शिक्षाको व्यवस्था गरिनेछ ।
जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा 
निर्माणाधिन ३ वटै जलविद्युत आयोजनामा जनताको स्वामित्व वा शेयर हिस्सेदारी स्थापित गराउन विशेष पहल गरिनेछ ।
साविकको नेचाबतासे गाविसलाई समेत ध्यानमा राख्दै सिङगो गाउँपालिकालाई नै प्रभावित क्षेत्र घोषणा गराई विना लोडसेडिङ विद्युत सेवाको प्रबन्ध मिलाउन विशेष पहल गरिनेछ ।
आगामी ३ वर्षभित्रमा गाउँपालिकालाई अध्याँरोमुक्त घोषणा गर्न कार्यक्रम निर्माण गरी पहल गरिनेछ ।
सिञ्चाई तथा खानेपानी 
औसत बाली सघनता दोब्बर गर्न सोलुखोला ओभरथ्रो सिञ्चाई आयोजना सञ्चालन गरिनेछ ।
बाह्रै महिना सिञ्चाईको व्यवस्था मिलाई कृषि उत्पादनमा विविधिकरण र बेमौसमी खेतीलाई प्रोत्साहन गरिनेछ ।
आगामी ५ वर्षभित्रमा गाउँपालिकाभित्रका प्रत्येक नागरिकको घरमा एक घर एक धारा नीति लिई खानेपानीको व्यवस्था मिलाईने छ ।
सूचना तथा सञ्चार 
आगामी ३ वर्षभित्रका प्रत्येक वडामा ल्याण्डलाईन फोनको व्यवस्था गरी सहज इन्टरनेट सेवाको प्रवन्ध मिलाईने छ ।
प्रत्येक वडामा एक/एक टेलीसेन्टर स्थापना गरी सेवा उपलब्ध गराईने छ ।
गाउँपालिकामा स्थानीय बासिको सहभागीतामा एक सामुदायिक रेडियो स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
सम्भाव्यता अध्ययन गरी टेलिभिजन सञ्चालनमा पहल गरिनेछ ।
गाउँपालिकामा एक साझा सूचना केन्द्रको स्थापना गरिनेछ ।
खेलकुद 
प्रत्येक वडामा एक/एक खेलमैदानको व्यवस्था गरिनेछ ।
सल्यानको उपयुक्त स्थानमा रंगशाला वा खेलमैदान निर्माण गरिनेछ ।
बुस्तिङदेखि निगुरे गैरासम्मको भूभाग समेटेर गल्फ मैदान बनाउने योजना अघि सारिनेछ ।
प्रत्येक वडामा एउटा कवर्डहल व्यवस्था गरिनेछ ।
युवा र रोजगारी 
दश युवा एक उद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उद्यमी बन्न तालिम सञ्चालन गरिनेछ ।
विकास निर्माणमा युवाहरुलाई परिचालन गर्ने नीतिगत तथा व्यवहारिक कार्यक्रम सञ्चालन गरिनेछ ।
शैक्षिक प्रमाणपत्र धितो राखी सरल कर्जा उपलब्ध गराएर युवाहरुलाई उत्पादनमूलक काममा लगाई शैक्षिक वेरोजगारीको समस्यालाई प्रभावकारी रुपमा हल गरिनेछ ।
स्वास्थ्य 
गाउँपालिकामा सरकारी अनुदान सहितको कम्तीमा २५ बेडसम्मको अस्पताल निर्माण गरिने छ ।
प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रहरुको निर्माण गरिने छ ।
स्वास्थ्य बीमाको व्यवस्था मिलाईने छ ।
गाउँपालिकामा कम्तिमा एक एम्बुलेन्सको व्यवस्था मिलाईनेछ ।
उत्कृष्ट विद्यार्थी छनौट गरी स्थानीय तहमा फर्केर सेवा गर्ने सर्तमा छात्रवृत्ति सहित एम.वी.वी.एस अध्ययन गर्ने व्यवस्था मिलाइने छ ।
गरिबिको रेखामुनी रहेका नागरिकलाई स्वास्थ्य बीमा र स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था मिलाइने छ ।
सामाजिक विकास र सेवाको प्रवाह 
टोलटोलमा विद्युतीय सेवा, सुशासन र सुगमतामा टेवा भन्ने नाराका साथ गाउँपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा साविक गाविसका प्रत्येक वडामा एक/एक वटा टोल सेवा केन्द्र स्थापना गरी सहज सेवा प्रवाह गरिनेछ ।
जेष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका तथा लोपोन्मुख जाति र एकल महिलालाई कम्तीमा खान पुग्ने सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनेछ ।
१०० दिनमा गरिने कार्यक्रमहरु 
गाउँपालिकाको लागि व्यवस्था भए बमोजिमका कार्यालयहरुको स्थापना र कार्य सञ्चालन गरिने छ ।
गाउँपालिकाको पाश्र्वचित्र निर्माण गरिनेछ ।
विभिन्न विषयगत समितिको गठन गरिनेछ ।
वडा तथा टोल स्तरमा सेवा केन्द्रहरुको स्थापना गरिनेछ ।
गाउँपालिकाभित्रका भूकम्प पीडित जनताहरुको आवास निर्माण कार्यलाई व्यवस्थित एवं प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
घोषणापत्रमा उल्लेख गरिएका तथा जनताको भावना र आवश्यकतामा आधारमा रही ५ वर्षे गुरुयोजना निर्माण गरिनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार  ५ : ३६ बजे