६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

रुकुममा करिब चार लाख किलो खोटो सङ्कलन


२१ जेष्ठ २०७४, आइतबार  

0
Shares

रुकुम, २१ जेठ । यस वर्ष जिल्लामा करिब चार लाख केजी खोटो सङ्कलन भएको छ । गत साउन महिनादेखि अहिलेसम्म नौ महिनाको अवधिमा तीन लाख ८५ हजार ८० केजी खोटो उत्पादन भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

गत वर्ष दुई लाख ५९ हजार ३१६ किलो खोटो सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष एक लाख २५ हजार ७६४ किलो बढी खोटो सङ्कलन गरिएको जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले जानकारी दिनुभयो । यो वर्ष गत वर्षको तुलनामा बढी सामुदायिक वनबाट खोटो सङ्कलन गरिएकाले खोटो सङ्कलन बढेको उहाँले बताउनुभयो । गत वर्ष ३० ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको थियो भने यो वर्ष ३९ ओटा सामुदायिक वनमा रहेका सल्लाका रूखबाट खोटो सङ्कलन गरिएको उहाँको भनाइ छ ।

खोटो सङ्कलनबाट सामुदायिक वनले यो वर्ष ३२ लाख ७१ हजार ३०० आम्दानी गरेका छन् । खोटो सङ्कलन बढेकाले आम्दानी पनि बढेको जिल्ला वन कार्यालयको भनाइ छ । गत वर्ष रु २० लाख ७४ हजार ५३३ आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा करिब रु १० लाख बढी आम्दानी भएको छ । जिल्लामा हरेक वर्षको चैत महिनादेखि कात्तिक महिनासम्म खोटो सङ्कलन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  १२ : २१ बजे