५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

हातले टेकेर चारजनाको परिवार पाल्दै पुष्पबहादुरहातले टेकेर चारजनाको परिवार पाल्दै पुष्पबहादुर


४ श्रावण २०७४, बुधबार  

0
Shares

इलाम, ४ साउन । पोलियो रोगका कारण दुवै खुट्टा कामै नलाग्ने भएपछि मोरङ मङ्गलबारेका पुष्पबहादुर बोहोरा (५७) का जीवनमा कहिल्यै खुशीका दिन आएनन् । सबैथोकको भर हात भएपछि हात टेकेर हिँड्नुपर्ने उहाँको बाध्यता छ ।
चौध वर्षको उमेरमा पोलियो रोग लागेपछि उहाँ दुवै खुट्टाले अपांग हुनुभयो । उपचारका लागि उत्तिबेलै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) गए पनि निको भएन ।
उहाँ भन्नुहुन्छ, “डाक्टरले शरीरको आधा भाग नै काटेर फ्याक्नुपर्छ भनेर मलाई सल्लाह दिनुभयो तर त्यो सल्लाह मैले मानिन, अहिले पनि दुई हात टेकेरै जीवन निर्वाह गरिरहेको छु ।” रोग लागेपछि धामीझाँक्री पनि लगाइयो तर दैवको लीला केही चलेन, उहाँले भन्नुभयो ।
विसं २०१४ मा भोजपुरको तिवारी भञ्ज्याङमा बुबा छत्रबहादुर बोहोरा र आमा रेवताका साइला छोराका रूपमा जन्मिएका उहाँ दुवै हात टेकेर सहयोग माग्दै इलाम बजारका सडक पेटीमा भेटिनुभएको छ । हालै इलाम आइपुग्नुभएका बोहोरा सहयोगका हात फैलाउँदै विभिन्न पसलतिर घुम्नुहुन्छ ।
दुवै खुट्टा पोलियोले कामै नलाग्ने भएकाले परिश्रम गरेर खान पनि मुस्किल पर्छ । दिनभरि सहयोग मागेर संकलन गरेर ल्याएको दुई÷चार पैसाले चारजनाको परिवार पाल्नुपर्छ । उहाँका एक छोरा र एक छोरी तथा श्रीमती छन् । नौ वर्षीय छोरालाई मोरङको सनसाइन बोर्डिङ स्कूलमा पढाउँदै आउनुभएको छ ।
“दिनभरि कमाएको पैसाले छोराछोरीलाई पढाउनु कि, पेट पो पाल्नु कि अझ वृद्धावस्था हुँदै गएपछि डुल्न पनि सकिँदैन होला, कसरी जिन्दगी चलाउँ”, पीडा पोख्दै बोहोरा भन्नुहुन्छ, “यस्तो भएर पनि बाँच्नै त पर्दाे रहेछ ।”
आफ्नो नाममा दुई रोपनी जग्गा छ, काम गर्ने पनि कोही छैनन् उहाँले भन्नुभयो “त्यहाँबाट आएको आम्दानीले खान पनि पुग्दैन ।”
कक्षा सातसम्म अध्ययन गरेर पोलियो रोगका कारण अध्ययन बीचमै छाड्नु परेको उहाँ बताउनुहुन्छ । अपांगता भएको प्रमाणपत्र पाएपछि मासिक रूपमा रु दुई हजार भत्ता आउँछ । सहयोगका लागि विभिन्न सरकारी कार्यालय र गैरसरकारी कार्यालय घुमेको उहाँ सुनाउनुहुन्छ । पोलियोबाट बच्नका लागि बालबालिकालाई खोप, पोलियो थोपा खुवाउन समयमै ध्यान पु¥याउन उहाँ सबैलाई सल्लाह दिनुहुन्छ ।
उसबेला औषधिनै पाइँदैनथ्यो, धामी झाँक्रीको भर परियो, हात यस्तो भयो, उहाँले दुखेसो पोख्नुभयो । अपांगता परिचयपत्र बनाएपछि उहाँ अहिले बसमा निःशुल्क यात्रा गर्नुहुन्छ ।
इलाम, पाँचथरको फिदिम, झापा र मोरङ जिल्ला हातको भरमा घुमेको सुनाउँदै उहाँ घुमफिर गरेर नै हप्तामा दुई÷चार हजार रुपैयाँ संकलन गरेर परिवारको गुजारा चलाइरहेको बताउनुहुन्छ ।
त्यही पैसाले एकसरो लगाउन र दुई छाक हातमुख जोर्न पुग्दैछ उहाँलाई । पोलियोले उहाँका दुवै खुट्टा दाउरा झैं सुकिसकेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार  ४ : ३१ बजे