४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

दुई नगरपालिका जोड्ने पुल उद्घाटन


१० श्रावण २०७४, मंगलबार  

0
Shares

भक्तपुर, १० साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका ९साविकको सुडाल गाविस० जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गर्नुभएको छ ।
उहाँले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताउनुभयो ।
निर्माण भएको पुलको उद्घाटन गर्दै

नेपाल सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग एकाइको प्राविधिक सहयोगका साथै भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा कुल रु एक करोड २४ लाख एक हजार ८३३ को लागतमा १० दशमलव ६ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण भएको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो ।

विसं २०७३ मा भण्डारी थुतुङ एण्ड श्यामबाबु जेभी कम्पनीले उक्त पुल बनाउने सम्झौता गरेर रु १२ लाखको पहिलो किस्ता पुल भत्काउने काम गरे पनि पुल बनाउने काम नगरेपछि स्थानीयको सहयोगमा पुल निर्माण गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयकी इन्जिनियर सरिता उपाध्यायले रु ९० लाखको काम भए पनि रु एक करोड छ लाखको रकम भुक्तानी भएको बताउँदै वातावरीयण सुधार, खोलाको संरक्षणलगायतका १० प्रतिशत काम बाँकी रहेको बताउनुभयो ।
काम गर्न नसकेकै आधारमा ठेकेदार कम्पनीलाई रु आठ लाख ६१ हजार ९२८ जरिवाना तिराएसंगै जिल्ला समन्वय समितिले ठेक्का रकम मै पुल निर्माण गर्ने गरी स्थानीय सुडाल रोड इँटा व्यवसायी समितिलगायतको सहयोगमा पुल निर्माण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रव कोइराला, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायतले कुनै पनि विकासमा अब स्थानीय निकायले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुल निर्माणमा सहयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार  १२ : ५४ बजे