५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

पाँच दिनभित्र तत्कालीन र दीर्घकालीन सूची बुझाउन निर्देशन


१६ श्रावण २०७४, सोमबार  

0
Shares

 

काठमाडौँ, १६ साउन । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले आज मन्त्रालय मातहतका ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, कर्मचारी प्रशिक्षण प्रतिष्ठान र निजामती किताबखानाको निरीक्षण गर्दै तिनका प्रमुखलाई पाँच दिनभित्र तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको सूची मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ ।
उहाँले ती निकायलाई संघीयताको संरचनानुसार अगाडि बढाउनसमेत निर्देशन दिनुभएको उहाँका स्वकीयसचिव तिलकराज ओलीले बताउनुभयो । उहाँले दुई प्रतिष्ठानलाई चाँडै संघीय संरचनानुरुप सात वटै प्रदेशमा कर्मचारीलाई तालिमको व्यवस्थापन गर्न तथा निजामती किताबखानालाई संघीय संरचनामा लैजानका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।

निरीक्षणका क्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने, कर्मचारी प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक शैलेन्द्र गिरी र किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले आ–आफ्ना निकायको अवस्थाबारे मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार  १ : १० बजे