३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

बक्यौता असुलले कामपाको आम्दानी बढ्यो


१८ श्रावण २०७४, बुधबार  

0
Shares

काठमाडौँ, १८ साउन । काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल भएपछि रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको छ ।

कामपाले आन्तरिक आम्दानीको लागि आव २०७३÷७४ मा रु एक अर्ब ४६ करोड २१ लाख लक्ष्य लिएकोमा रु एक अर्ब ८७ करोड ११ लाख आम्दानी गरेको छ, जसमा रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी हो ।

अघिल्लो आवको तुलनामा यस वर्ष बक्यौता रकम प्राय सबै उठेकाले यस वर्ष आन्तरिक आम्दानी बढेको कामपाको राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेशनल ट्रेडिङले गत आवमा रु १० करोड बक्यौता रकम तिरेको छ, त्यसैगरी ट्रेड टावर, एभरेष्ट होटलबाहेक अन्य ठूला सबै होटलले बक्यौतासहित करको दायरामा आएकाले कामपाको आन्तरिक आम्दानी बढेको हो ।

आन्तरिक आम्दानीको शीर्षकमा सबैभन्दा बढी विज्ञापन करमा लक्ष्यभन्दा निकै बढी रु सात करोड ७३ लाख असुल गरेको छ । त्यसको लागि रु ७२ लाख ७३ हजार लक्ष्य लिइएको थियो ।

२०७२ साल भदौ १६ गते सर्वोच्च अदालतले विज्ञापन प्रचारप्रचारको सम्बन्धमा परमादेश जारी गरी सार्वजनिक सडकलगायतका स्थानमा पर्चा, पम्प्लेट टाँस्न नपाउने भनेपछि आदेशअनुसार कारबाही गरी सार्वजनिक स्थानमा भएको विज्ञापन हटाउँदा नियमानुसार रहेका विज्ञापन सबै करको दायरामा आएकाले विज्ञापन कर बढी असुल भएको हो ।

त्यसैगरी, बाह्य आम्दानीतर्फ गत वर्ष कामपाले एक अर्ब ८९ करोड २२ लाख आम्दानी गरेको छ । बाह्य आम्दानीअन्तर्गत नेपाल सरकारको अनुदान, नेपाल सरकारको स्थानीय विकास शुल्क तथा भगिनी सम्बन्ध भएका विदेशी सहरबाट आएको सहयोग आदि पर्दछ ।

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ३ : ०९ बजे