७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

मुठ्ठीदानबाट बालमैत्री संरचना निर्माण हुँदै


१९ श्रावण २०७४, बिहिबार  

0
Shares

 

गौशाला, १९ साउन । महोत्तरी जिल्लाको जनता माध्यमिक विद्यालय बर्दिवासमा मुठ्ठीदानबाट बालमैत्री संरचना निर्माणको काम भइरहेको छ ।

विकास निर्माण गर्न सरकारी बजेट नै चाहिँदैन, इच्छा शक्ति भए स्थानीयस्तरबाटै पनि धेरै राम्रा विकासका काम गर्न सकिन्छ भन्ने उदाहरणस्वरुप अहिले सो विद्यालयमा मुठ्ठीदानबाट बालमैत्री संरचना निर्माण हुँदैछ ।

यही जिल्लाका सयौँ विद्यालयमा हुने अनावश्यक राजनीतिक खिचातानी र विवादका कारण कतिपय विद्यालयमा आएका बजेट पनि त्यसै फिर्ता गइरहेको हुन्छ । तर यस्तो यावत चुनौतीका बीच भने जनता माध्यमिक विद्यालय बर्दिवासमा बालमैत्री संरचना युद्धस्तरमा निर्माण भइरहेको देखेर स्थानीयवासी हर्षित भएका छन् । अन्य विद्यालय आश्चर्यचकित भएका छन् ।

सो विद्यालयका बालबालिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमीहरुको सक्रियतामा रु ४८ लाखको अनुमानित लागतमा बालमैत्री वातावरण परियोजना निर्माणको काम भइरहेको छ ।

विद्यालयको आफ्नो कोषमा रहेको रु १० लाखबाट निर्माण थालिएको उक्त महत्वाकांक्षी योजनाको अहिले जिल्लाभरि नै निकै चर्चासमेत हुन थालेको छ ।

गरिब तथा विपन्न समुदायका बालबालिका पढ्ने यस विद्यालयमा निर्माणाधीन बालमैत्री वातावरण निर्माण परियोजना निर्धारित समयमा सम्पन्न गर्न जनस्तरबाट राम्रो आर्थिक सहयोग प्राप्त भइरहेको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताउनुभयो ।

यस परियोजनाभित्र ५०० मिटर पक्की बाटोमा सडकको दुवैतिर रेलिङसहितको अत्याधुनिक गार्डेन, चिड्रेन पार्क, अत्याधुनिक फाउण्टेन (झरना), सांस्कृतिक कार्यक्रमका लागि स्टेज, सवारी पार्किङका लागि पार्किङस्थल, खानेपानीको धारा निर्माण, सूचना केन्द्र, बालभित्ते पत्रिका, इ–लाइब्रेरी, कम्प्युटर कक्षालगायतका सुविधाको काम युद्धस्तरमा भइरहेको छ ।

यस विद्यालयमा यी संरचनाको निर्माणकार्य सम्पन्न भएपछि विद्यालयलाई तराईकै पहिलो बालमैत्री विद्यालय घोषणा गरिने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले बताउनुभयो ।

आफ्ना बालबालिकाको सुविधाका लागि मुठ्ठी दान अभियानबाट परियोजना निर्माणका लागि स्थानीयस्तरबाट झण्डै रु पाँच लाख बराबरको नगद तथा जिन्सी निर्माण सामग्री विद्यालयलाई प्राप्त भइसकेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार यही साउन महिनाभित्र यस परियोजनाको सबै निर्माण काम सम्पन्न हुने लक्ष्य रहेको र अहिले ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ ।

यस विद्यालयमा ९० प्रतिशतभन्दा बढी बालबालिका मुसहर, कामी, दमार्इं, परियार, विश्वकर्मा, सार्की, मोची, बैठाजस्ता पिछडिएका दलित तथा गरिब जातजाति र समुदायका बालबालिका अध्ययन गर्ने गरेका छन् ।

हास्य कलाकार दम्पती धुर्मुस—सुन्तली फाउण्डेसनको प्राविधिक सहयोग एवं प्रेरणामा सो विद्यालयमा मुठ्ठीदानबाट बालमैत्री परियोजना निर्माण शुरु गरिएको छ भने परियोजना सम्पन्न भइसकेपश्चात् विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमा टिकाउन, सिकाउन र गुणस्तरीय शिक्षा दिएर विश्वको प्रतिस्पर्धी बजारसम्म पु¥याउनमा थप टेवा पुग्ने विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार  ७ : २१ बजे