गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

7 Shares

 

काठमाडौँ, २० साउन । आवश्यक गणपूरक संख्या नपुगेपछि व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा बैठकमा नेमकिपाका डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपूरक संख्या नपुगेको भनी नियमापत्ति जनाउनुभएको थियो ।

काफ्लेको नियमापत्तिपछि सभामुख ओनसरी घर्तीले गणपूरक संख्या यकिन गर्नका लागि तीन मिनेट जनाउ घण्टी बजाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । सो अवधिमा संख्या गणना गर्दा ९७ सदस्यको मात्रै उपस्थिति देखिएपछि बैठक स्थगन गरिएको हो ।

नेपालको संविधान धारा ९४ अनुसार संसद्को बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कायम संख्याको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । सोअनुसार संसद्मा हाल कायम सदस्य संख्यामध्ये १४९ सदस्य उपस्थित हुनुपर्छ । बैठकमा गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचीमा रहेका संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार