५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सन्तानेश्वर महादेवः आकर्षण बढ्दै


२२ श्रावण २०७४, आइतबार  

14
Shares

 

ललितपुर, २२ साउन । गोदावरी नगरपालिका– १३ झररुवासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।
ललितपुरको लगनखेलबाट पूर्वी दक्षिणी भेगमा राजधानी नजिकै पर्ने सो मन्दिरमा पूजाराधनाका लागि सोमबार व्रतालु भक्तजनको भीड लाग्ने गरेको छ । विशेष गरेर साउनको हरेक सोमबार अझ बढी भक्तजनको उल्लेखनीय सहभागिता हुने गर्छ । सतीदेवीको ओठ पतन भएकाले सो क्षेत्रमा सन्तानेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । मन्दिरमा पुग्न ३६६ सिँढी चढेर जानुपर्छ ।

 

समुद्री सतहबाट एक हजार ५०७ मिको उचाइमा अवस्थित सो मन्दिर नौ किमी दूरीमा पर्छ । धार्मिक तथा पर्यटकीय रुपले रमणीय सो स्थान भक्तजनको आस्थाको केन्द्रविन्दु रहेको पाइन्छ । हिन्दू धर्मप्रति विश्वास राख्ने हिन्दू धर्मावलम्बी उक्त मन्दिरमा पूजापाठका लागि बिहानैदेखि लामबद्ध हुनेगरेका छन् । मन्दिरमा पूजार्चनाका लागि राजधानीलगायत देशका मेची–महाकाली एवम् छिमेकी देश भारतबाट समेत भक्तजनको ओइरो लाग्ने गरेको बताइएको छ ।

मन्दिरका पुजारी गंगा गौतमका अनुसार मन्दिरमा पूजाराधना गर्नाले सन्तान प्राप्ति एवम् परिवारमा सुखशान्ति मिल्छ । उहाँका अनुसार मन्दिरमा महादेवको बास भएको शुभसाइतको दिन पारेर रुद्री लगाएर पूजा लगाउनाले सन्तान प्राप्त हुनेगरेको छ । सो पूजाका लागि पतिपत्नीसँगै व्रत बसेर पूजा गरिनुपर्ने उहाँले बताउनुभयो ।
सन्तानेश्वर मन्दिरमा पूजाका लागि आउनुभएका इमाडोल निवासी गीता थापाले साउनको हरेक सोमबार व्रत बसेर पूजा गरेमा सन्तानको रक्षा एवम् सुखशान्ति मिल्ने गरेको बताउनुभयो । मन्दिरमा पूजा गर्नाले आफूभित्र आत्मविश्वास समेत बढ्दै आएको उहाँको भनाइ छ ।

Sagarmatha

धापाखेलबाट आउनुभएकी सीता खड्काले भन्नुभयो, “यहाँ पूजा गर्दा सन्तानको रक्षा हुने गरेको छ, परिवारमा सधैंँ शान्ति मिलेको छ ।” धेरैजसो सन्तान प्राप्तिकै लागि मन्दिरमा भीड लाग्ने गरेको उहाँको भनाइ छ ।
सन्तानेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खड्काले साउनको हरेक सोमबार २० आँैं हजारको संख्यामा व्रतालु भक्तजनको आगमन हुने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिर क्षेत्रले १५० रोपनी क्षेत्रफल जग्गा ओगटेको छ । “मन्दिरलाई नेपालकै दोस्रो पशुपतिका रुपमा विकास गरिने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

मन्दिर क्षेत्रलाई आकर्षित गराउन फूलको बगैँंचा बनाउने तथा जडीबुटीका बिरुवा रोप्ने तयारी पनि छ । सो क्षेत्रलाई थप आकर्षित गराउनका लागि मन्दिरसम्म पुग्न मोनोरेलको अवधारणा पनि रहेको अध्यक्ष खडकाले बताउनुभयो गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनका अनुसार सो स्थानलाई धार्मिक–पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विशेष योजना ल्याइने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार  ११ : ३४ बजे